धनगढी। कैलालीको लम्की चुहाका भूपेन्द्र बडुवाल हत्या प्रकरणका फरार अभियुक्त पक्राउ गर्न माग गर्दै आफन्तले पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्की सडक खण्ड अवरुद्ध गरेका छन्।
भूपेन्द्रका आफन्त र स्थानीयले अझैसम्म पनि हत्यामा संलग्न मुख्य योजनाकारसहित केही अभियुक्तलाई पक्राउ नगरेको भन्दै आज प्रदर्शनसहित राजमार्ग अवरुद्ध गरेका हुन् । कात्तिक २३ गते हत्या गरिएका भूपेन्द्रका आफन्तले अझैसम्म पनि मुख्य योजनाकारसहित केही अभियुक्तलाई पक्राउ नगरेको भन्दै उनीहरूले मध्याह्नदेखि राजमार्ग अवरुद्ध पारेका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले मध्यान्नदेखि राजमार्ग अवरुद्ध भएको बताए। २३ वर्षीय युवक भूपेन्द्र बडुवालको हत्या गरेको आरोपमा १२ जनालाई पक्राउ गरेको प्रहरीले अन्य ९ जनाको भने खोजी जारी रहेको जनाएको छ। हत्याका योजनाकार भनिएका नविन रावलसहितका ९ जना फरार रहेका हुन्।