धनगढी । नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार तय गरेको छ। सत्ता गठबन्धनमा भएको भागबण्डा अनुसार नेकपा एसले ५ सदस्य पाएको छ।
जस अनुसार नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिम प्रदेशबाट पार्टीकी केन्द्रीय सदस्य तथा सुदूरपश्चिम इन्चार्ज मदनकुमारी शाह (गरिमा) लाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाएको छ। शाह महिला तर्फबाट उम्मेदवार भएकी हुन्। शाह यसअघि ०७० सालको संविधान सभा सदस्य पनि हुन्।
यस्तै प्रदेश १ बाट जयन्ती राई, बागमतीबाट गोमा तिमल्सिना, लुम्बिनीबाट राजेन्द्रलक्ष्मी गैरे, कर्णालीबाट उदयवहादुर बोहोरालाई उम्मेदवार बनाइएको प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिएका छन्। सुदूरपश्चिममा रिक्त तीन राष्ट्रियसभा सदस्यका लागि सत्तारुढ नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच गठवन्धन भएको छ।माघ १२ गते हुने निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।