कञ्चनपुर। वातावरण सन्तुलन राख्न मद्दत पुर्याउने उद्देश्यले शुक्लाफाँटा नगरपालिकाले वैकल्पिक ऊर्जाको प्रयोगलाई बढावा दिन थालेको छ।
परम्परागत घरायसी इन्धनका रुपमा प्रयोग हुने दाउराको प्रयोग घटाएर वन संरक्षणमा टेवा पुर्याउन बायोग्यास, सुधारिएको चुलो र जलविद्युत्को विकल्पका रूपमा सडक सौर्य ऊर्जाको प्रयोगलाई प्राथमिकतामा राखेर कार्य अगाडि बढाउँदै आएको छ ।
विकट ग्रामीण क्षेत्रमा दाउराको अत्यधिक प्रयोग हुने गरेकाले वातावरण प्रदूषण, वन विनाशसँगै स्थानीय बासिन्दामा स्वासप्रश्वाससम्बन्धी रोगको संक्रमण बढ्दो छ।त्यसलाई न्यूनीकरण गर्न अनुदान रकम उपलब्ध गराएर बायोग्यासको प्रयोगलाई सबैको पहुँचमा पु¥याउन प्रयास गरिएको नगरपालिकाका ऊर्जा एकाइका प्रमुख सुरेन्द्रदेव भट्टले बताए ।
‘बायोग्याससहित शौचालय निर्माण गर्नेलाई ३० हजारका दरले प्रति प्लान्ट अनुदान रकम उपलब्ध गराउँदै आएका छौं,’ उनले भने । नगरपालिकाको अनुदानमा आव २०७६/७७ मा १५ र आव २०७७/७८ मा १८ गरी ३३ बायोग्यास प्लान्ट निर्माण भइसकेका छन्।चालू आवमा समेत २० भन्दा बढी बायोग्यास प्लान्ट निर्माण गर्ने लक्ष्य लिइएको छ । विपन्नसँगै दुर्गम क्षेत्रमा रहेका बासिन्दालाई पहिलो प्राथमिकतामा राखेर बायोग्यासका लागि अनुदान रकम उपलब्ध गराउने व्यवस्था गरिएको एकाइ प्रमुख भट्टको भनाइ छ । नगरपालिकाका १२ ओटै वडाका २५० घरघुरीलाई सुधारिएको चूलोसमेत वितरण गरिएको छ। ८० प्रतिशत रकम संघीय सरकारले र २० प्रतिशत रकम नगरपालिकाले बेहोर्ने गरी सुधारिएको चुलो वितरण गरिएको हो । नगरपालिकाको विद्युत्को व्यवस्था नभएका क्षेत्रमा सडक सौर्य बत्ती २५ खम्बामा जडान गरिएका छन् ।


