काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृत तोकेको छ । आगामी माघ १२ गते हुने निर्वाचनका लागि सम्बन्धित जिल्ला न्यायाधीशलाई तत्तत् जिल्लामा निर्वाचन अधिकृतमा नियुक्त गरेको हो ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सुदूरपश्चिम प्रदेशको लागि कैलाली जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरुलाई निर्वाचन अधिकृत तोकेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशको लागि प्रदेश सभा भवन, धनगढीमा मतदानस्थल रहने आयोगले जनाएको छ।
यस्तै प्रदेश-१ का लागि मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्साल, प्रदेश-२ को लागि धनुषा जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेल र बागमती प्रदेशको लागि मकवानपुर जिल्ला अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ निर्वाचन अधिकृत नियुक्त भएका छन् । त्यस्तै, लुम्बिनी प्रदेशको लागि दाङ जिल्ला अदालतका न्यायाधीश रीतेन्द्र थापा, कर्णाली प्रदेशको लागि सुर्खेत जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्य नियुक्त भएका आयोगले जनाएको छ ।