दार्चुला। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले दार्चुलास्थित जनगणना कार्यालयमा तालाबन्दी गरेका छन् ।
शुक्रबार उनीहरुले कालापानी, लिपुलेक तथा लिम्पियाधुरामा समेत जनगणना गर्नुपर्ने माग राख्दै तालाबन्दी गरेका हुन् । यी भूमि लामो समयदेखि भारतको अतिक्रमणमा छन् । शुक्रबार दिउँसो १ बजेतिर जनगणना कार्यालयमा पुगेका विप्लवका तीन जना कार्यकर्ताले तालाबन्दी गरेको जिल्ला जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार नयाँ नक्सामा समेटिएको क्षेत्रमा जनगणना गर्नेबारे घाममा बसेर कुराकानी गरौ भनेर कर्मचारीहरुलाई बाहिर बोलाएको र लगत्तै कार्यालयमा ताला लगाइएको थियो । उनले भने, ‘एक जनाले हामीलाई अलमल्याउन कुरा गर्न थाल्यो, दुई जनाले कार्यालयमा ताला लगाए । अनि कार्यालयको बोर्डमा कालो झन्डा समेत पनि राखे ।’ उनले यो खबर प्रहरीलाई गरेको र प्रहरी टोली आएर शुक्रबारै ताला तोडेको समेत बताए । तालाबन्दी गर्ने व्यक्तिहरूको खोजी भइरहेको जनाइएको छ ।