दार्चुला। दार्चुलामा राती ८ः३० बजेपछि देउसी भैलो खेल्न नपाइने जिल्ला प्रशासन दार्चुलाले जनाएको छ । दार्चुलामा तिहार पर्वको अवसरमा शान्ति सुरक्षालाई मध्यनजर राख्दै राति ८ः३० बजेपछि देउसी भैलो नखेल्न आग्रह गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी मनोहर प्रसाद भट्टले रातको समयमा हूलदंगा र आपसी झगडा हुन सक्ने भन्दै प्रहरी प्रशासनले देउसी–भैलोका लागि निश्चित समय निर्धारण गरेको जानकारी दिए। उनका अनुसार बेलुकी ५ बजेदेखि राती ८ः३० बजे सम्ममात्रै देउसी भैलो खेल्न पाइने जनाएको छ ।
रातीको ८ः३० बजेपछि देउसी–भैलो खेल्न नपाइने हामीले भनिसकेका छौँ’ डिएपी भट्टले भने, ‘पटका पडकाउन निषेध गरिएको छ । देउसी–भैलोमा नेपाली भाषा, धर्म, संस्कृति र सभ्यतालाई विकृति तुल्याउने खालका गीत, संगीत, श्रव्य, दृश्य सामग्री प्रशारण गर्न नगराउन अनुरोध गरेको छ । सामाजिक शान्ति विथोल्ने कार्यको साथै रकम नै तोकेर पत्रचार नगर्न अनुरोध गरिएको छ ।
लागूऔषधको निषेध वितरण तथा मदिराजन्य पदार्थ नियन्त्रण गर्न पनि आग्रह गरिएको छ। देउसी–भैलो खेल्ने बहनामा राति आपराधिक गतिविधि पनि हुन सक्ने आशंका गर्दै प्रहरीले समय निर्धारण गरेको जनाएको छ । यस्तै तिहार मनाउने क्रममा आतिशबाजी, पटका, भुइँचम्पाजस्ता प्रज्वलनशील पदार्थको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोग नगर्न समेत आग्रह गरेको छ । यदि कसैले पटका ओसार पोसार, विक्री वितरण तथा पट्काएको भेटेमा सार्वजनिक मुद्धासम्म चलाउने जिल्ला प्रहरी कार्यालय दार्चुलाले चेतावनी सम्म दिएको छ ।

