कञ्चनपुर। महाकालीको बाढीले निकुञ्जको १० हेक्टर वन क्षेत्र कटान गरेको छ । महाकाली नदीमा आएको बाढीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ठूलो क्षति गर्नुका साथै बाढीले १० हेक्टर बढी वन क्षेत्र कटान गरेको हो।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार झोलुंगे पुलबाट ३ किलोमिटर दक्षिणतर्फ महाकाली नदीले निकुञ्जको वन क्षेत्रको कटान गरेको हो । झोलुंगे पुलको दक्षिणबाट महाकालीको एउटा भंगालो निकुञ्जतर्फ सोझिन्छ। अर्को दोधारा चाँदनीतर्फ । एक/डेढ किलोमिटर लम्बाईमा कटान गरिरहेको छ।‘महाकालीको बाढीले लामो समयदेखि कटान गरिरहेको थियो,’ निकुञ्जका सहायक संरक्षण अधिकृत रबिन चौधरीले भने, ‘यसपालि त धेरै कटान गर्यो ।
’ उनका अनुसार महाकालीले बर्सेनि दुईरचार हेक्टर कटान गर्दै आएको थियो । एकै पटक ठूलो मात्रामा कटान गरेको यही वर्ष हो । निकुञ्ज कार्यालयका अनुसार उक्त क्षेत्रमा सय बढी ठूला रुख र ४ सय बढी पोथ्रा बगाएको छ । कटान गरेको स्थानमा अग्लो क्षेत्रमा साल वन र होचो क्षेत्रमा नदी तटिय वन जामुन, सिसौं, खयर र सिमल रहेको छ । उक्त क्षेत्रमा हात्ती, गैंडा, बाघ र चित्तललगायतका वन्यजन्तु पानी पिउन तथा चर्नका लागि आउने गरेका छन् ।
हात्तीको प्रमुख चरन क्षेत्र पनि यही हो । निकुञ्ज कार्यालयले कटान रोकथामका लागि एक दशकदेखि माग गर्दै आएको छ । महाकालीले कटान सुरु गरेदेखि तटबन्ध निर्माणका लागि पहल गरे पनि हालसम्म कुनै सुनवाई भएको छैन ।दुई वर्षअघि जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयले केही ठाउँमा तटबन्ध निर्माण गरे पनि त्यो पर्याप्त नभएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले बताए । कटान गरिएको क्षेत्र निकुञ्जको विशाल घाँसे मैदान नजिकै पर्दछ । कटान नियन्त्रण नभए महाकालीको बाढी बाह्रसिंगेको प्रमुख बासस्थान रहेको शुक्लाफाँटा घाँसे मैदानसमेत जोखिममा पर्ने देखिन्छ ।
‘धेरै कटान भए फाँटा पनि जोखिममा पर्छ, बाह्रसिंगाको बासस्थान नै मासिने खतरा हुन्छ,’ प्रमुख संरक्षण अधिकृत पुनले भने, ‘हामीले यसका लागि विभागमा पनि जानकारी गराएका छौं ।’३ सय ५ वर्गकिलोमिटर क्षेत्रफलमा रहेको निकुञ्जको प्रमुख आकर्षण शुक्लाफाँटा घाँसे मैदान हो । यहाँ दुईरअढाई हजारको संख्यामा बाह्रसिंगे हेर्न सकिन्छ । निकुञ्जको वार्षिक बजेट बाटोघाटो मर्मतदेखि मचान निर्माण आदिमै ठिक्क हुन्छ । महाकालीको कटान नियन्त्रणका लागि ठूलै वजेट आवश्यक पर्ने भएकाले गुरुयोजना बनाएर काम सुरु गर्नु पर्ने देखिन्छ ।
अविरल वर्षापछि निकुञ्जभित्रका विभिन्न खोलानालामा आएको बाढीले घाँसे मैदानमा पनि पटान गरेको छ । महाकाली नदीको बाढी भुजेला खोला हुँदै बस्तीमा पसेर निकुञ्जभित्रै प्रवेश गरेको थियो । बस्ती हँुदै निकुञ्जभित्र पसेको बाढीले पनि ठूलो मात्रामा पटान गरेको पुनले बताए । निकुञ्जभित्र गस्ती तथा अन्य कार्यका लागि प्रवेश गर्ने सबै बाटोहरु बन्द भएको छ । बाटोमा हिलो र पानी भरिएका कारण गस्तीलगायत शुक्लाफाँटा घाँसे मैदानको पोष्टमा खाद्यान्न तथा हात्तीको लागि दाना ढुवानीमासमेत समस्या आएको छ । असोज मध्यदेखि खुला गरिएको जंगल सफारी फेरी बन्द भएको छ ।