धनगढी। सुदूरपश्चिमका कृषक संघ संगठनहरुले तत्काल राहत र पुर्नस्थापना प्याकेज घोषणा गर्न माग गरेका छन् ।
सुदूरपश्चिमका विभिन्न कृषक संघ संगठनहरुले प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीलाई विभिन्न माग सहित ज्ञापन पत्र बुझाउँदै बाढी पहिरो पीडित किसानहरुका लागि तत्काल राहत र पुर्नस्र्थापना प्याकेज घोषणा माग गरेका हुन् ।
उनीहरुले कृषि संकटग्रष्त क्षेत्र घोषणा गरि प्राकृतिक विपत्तिबाट प्रभावित घरधुरीको यर्थाथ तथ्यांक संकलन, क्षतिपुर्ति तथा किसानलाई तत्काल उचित राहत, घाइतेहरुको स्वास्थ्य उपचार तथा उचित बसोबासको व्यवस्था, कृषि पेशा सुरक्षाकालागि बाली र पशुधन विमा कार्यक्रम प्रभावकारी बनाउनुपर्ने लगायतका माग राखेका छन्।
ज्ञापनपत्र बुझाउँदै राष्ट्रिय कृषक समूह महासंघ नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष प्रकाश बहादुर थापा बाढी पहिरो पीडित किसानहरुका लागि तत्काल प्रदेश सरकारले राहत प्याकेज घोषणा गर्नुपर्ने र बाढी प्रभावित घरपरिवारमा अहिले नै भोकमरीको अवस्था सृजना भइसकेकोले तत्काल उचित राहतको व्यवस्थापन गर्नुपर्ने बताए। कृषि पेशा सुरक्षाका लागि बाली र पशुधन विमा कार्यक्रम प्रभावकारी बनाउन उनले ध्यानाकर्षण गराए।
यस्तै गैर सरकारी संस्था महासंघ नेपालका सुदूरपश्चिम प्रदेशका अध्यक्ष देवि प्रसाद खनाल कृषकहरुका लागि हिउँदे बालीका निःशुल्क रुपमा विउविजन लगायत मलखादको पनि सहज रुपमा उपलब्ध गराउनु पर्ने जानकारी दिए। ज्ञापनपत्र बुझ्दै मन्त्री चौधरीले किसानका लागि राहत प्याकेज, हिउँदे बालीका लागि अनुदानमा बिउविजन लगायत सहज र सहुलियत दरमा मलखादका लागि विभिन्न सरोकारवाला निकायसंग छलफल भइरहेको जानकारी दिइन्।
राष्ट्रिय कृषक समूह महासंघ नेपाल, खाद्य अधिकार संजाल, केरा उत्पादन तथा प्रबद्र्धन जिल्ला सहकारी कञ्चनपुर, मुख्यमन्त्री नमुन कृषि गाउँ(केरा) कृषक समन्वय समिति कञ्चनपुर, गैसस महासंघ नेपाल, भूमि अधिकार मञ्च कैलाली लगायत कृषि संघ संगठनले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका थिए ।बेमौसी बर्षासंगै आएको बाढी पहिरो र डुबानमा परि ३७ जनाले ज्यान गुमाएका छन् भने २२ जना बेपत्ता भएका छन् । यसका साथै बाढी पहिरोले दुई हजार भन्दा बढि घर डुवान तथा क्षति भएको छ । बाढी पहिरोले प्रदेशको करिब ३० हजार हेक्टर भन्दा बढि जमिनमा लगाईको धानबाली पूर्ण रुपमा क्षति भएको छ ।