धनगढी। कैलालीमा हालै सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी किरण थापाले जिल्लाको सुरक्षा व्यवस्था सबल बनाउन उच्च प्राथमिकता राख्ने बताएका छन्।
गृह मन्त्रालयबाट सरुवा भई कैलालीमा आएका प्रमुख जिल्ला अधिकारी(सिडिओ) थापाले आइतबार पत्रकारसँगको भेटघाट कार्यक्रममा जिल्लाको सुरक्षा व्यवस्था सबल बनाउन उच्च प्राथमिकता रहेको बताएका हुन्।
यस अघि प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी समाल्दै आएका खगेन्द्र रिजालको गृह मन्त्रालयमा सरुवा भएपछि किरण थापा कैलाली आएका हुन। कैलाली जिल्लाको जिम्मेवारी समाल्दै सिडिओ थापाले जिल्लाको शान्ति सुरक्षा व्यवस्थालाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर अघि बढ्ने जानकारी दिए।
उनले भने “सिडिओको मुख्य भूमिका भनेको जिल्लाको शान्ति सुरक्षा र विकास निमार्णको समन्वयमा भूमिका खेल्ने हो। यही भित्र रहेको नै मेरो भूमिका क्रियाशील रहन्छ,” । सिमानाकामा हुने समस्यालाई दुवै देशका प्रतिनिधिहरू सँग छलफल समाधान गर्ने उनले जानकारी दिए।