धनगढी।आजदेखि धनगढीबाट सुदूरपश्चिमका पहाडी जिल्लामा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले उडान भर्ने भएको छ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा निगमले (आज)आइतबारदेखि उडान सुरु गर्ने भएको हो।
बेमौसमी वर्षात्सँगै आएको बाढी पहिराले त्यहाँका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध भएका कारण यातायात सेवा पनि बन्द भएकाले मन्त्री आलेले नागरिकलाई सहजरुपमा सेवा दिने उद्देश्यले वायुसेवा निगमका जहाज सञ्चालन गर्न निर्देशन दिएका हुन्। सुदूरपश्चिमका पहाडी जिल्ला बझाङ, बाजुरा र डोटीमा नेपाल वायुसेवा निगमले कैलालीको धनगढीबाट नियमितरुपमा हवाइ सेवा सञ्चालन गर्ने तयारी गरेको वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले बताए।
उनले भने, ‘बाजुरामा हाम्रो जहाज सञ्चालन थियो अब मन्त्रीको निर्देशनपछि बझाङ, बाजुरा र डोटीमा नियमित हवाइ उडान सञ्चालन हुनेछ।’सुदूरपश्चिमका पहाडी जिल्लामा आइतबारदेखि कैलालीको धनगढी विमानस्थलबाट जहाज चलाउनका लागि सम्पूर्ण तयारी पूरा भएको नेपाल वायुसेवा निगमले जनाएको छ। उडानका लागि तालिका सार्वजनिक भइसकेको धनगढी विमानस्थलले जनाएको छ।
धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले आज पहिलो दिन धनगढीबाट डोटीको दीपायल र बझाङमा उडान हुने जानकारी दिए। ‘नेपालगञ्जबाट धनगढी आउने जहाजले डोटी र बझाङ उडान भर्ने तयारी छ,’ भट्टले भने। उनका अनुसार दुबै रुटका लागि भाडादर कायम भइसकेको छ। ‘धनगढीदेखि डोटी २ हजार ६१५ र डोटीबाट धनगढी आउन २ हजार ५१५ भाडादर कायम भएको छ,’ भट्टले भने, ‘धनगढीदेखि बझाङको ३ हजार ९९५ र बझाङदेखि धनगढी आउदा ३ हजार ८९५ भाडादर कायम भएको छ।’
बेमौसमी बर्सातसँगै आएको बाढी पहिराले पहाडी जिल्लाका राजमार्गहरु अवरुद्ध भएका कारण यातायात सेवा पनि बन्द भएकाले नेपाल वायुसेवा निगमले उडान सुरु गर्न लागेको हो। अहिले सुदूरपश्चिमका पहाडी जिल्लामा समिट एयरले मात्रै उडान भर्दै आएको थियो।सुदूरपश्चिमका पहाडी जिल्लामा सहुलियत भाडा दर कायम गरी हवाइ उडान गर्ने योजना रहेको वायुसेवा निगमको कार्यालयले जनाएको छ। मन्त्री आलेकै निर्देशनमा नेपाल वायुसेवा निगमले आइतबारदेखि धनगढी–काठमाडौं पनि उडान गर्ने भएको छ।