धनगढी। सुदूरपश्चिम प्रदेशमा बाढीपहिरो तथा प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ । असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएका प्राकृतिक विपद्को घटनामा परेर शनिबार बेलुकीसम्म ३५ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
विपद्बाट सबैभन्दा बढी मानवीय क्षति डोटीमा भएको छ। त्यहाँ १६ जनाको मृत्यु भएको छ। बझाङमा १०, बैतडीमा ४, डडेल्धुरामा ३, अछाम र कैलालीमा १/१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । विपद्मा परेर प्रदेशका २३ जना अझै बेपत्ता छन् । बझाङमा २० र बैतडी, डोटी, कैलालीमा १/१ बेपत्ता रहेका हुन् ।
डोटीमा ११, डडेल्धुरामा २, बैतडीमा २ र बझाङ र बाजुरमा १/१ जना गरी १७ जना घाइते भएका छन्। बाढी, पहिरो र डुवानमा परेर एक सयभन्दा बढी पशुचौपाया मरेका छन् भने ६० बढी बेपत्ता छन् । पहिरोले बझाङमा १२, डोटीमा ६ र डडेल्धुरामा दुई गरी २० घरमा पूर्ण क्षति पुगेको छ ।