धनगढी । सुदूरपश्चिममा बाढी, पहिरो र डुबानले जनजिवन प्रभावित भएको छ। प्रदेशमा वर्षासँगै आएको बाढीपहिरेमा परी अहिले सम्म १४ जनाको मृत्यु भएको छ। बैतडीको शिवनाथ गाउँपालिकामा पहिराले घर बगाउँदा तीन जनाको मृत्यु भएको छ। वडा नम्बर ६ बसेडीका रामी पार्कीको घर पहिरोले बगाउँदा तीन जनाको मृत्यु भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताए। मृत्यु हुनेमा १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीया भानु पार्की र ३ वर्षीय सोम पार्की छन्।
यस्तै डोटीमा सोमबार राति जिल्लाको सायल गाउँपालिका–६ मेल्लेखका बीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिएर २ जना मृत्यु भएको इलाका प्रहरी कार्यालय डोटीले जनाएको छ। मृत्यु हुनेहरुमा बिरबहादुर कुन्जेडाका १४ वर्षीय छोरा सागर र ११ वर्षीय आशिष कुन्जेडा रहेको प्रहरीले जनाएको छ।
जोरायलमा ६ र शिखरमा एक जनाको मृत्यु भएको खबर छ। विस्तृत विवरण आउन बाकी छ।
डडेल्धुरामा घरमाथिबाट आएको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका–१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थीको ज्यान गएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। प्रदेश
यस्तै डडेल्धुरामा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ। गन्यापधुरा गाउँपालिका–३ बस्ने अन्दाजी ६५ वर्षीय नर्मदादेवी शाहीको खोलाले बगाएर मृत्यु भएको हो। घर नजिकै रहेको खोलाबाट पाइपमा खानेपानी फर्काउने बेलामा माथिबाट आएको पहिरोसहितको भेलले बगाउँदा उनको मृत्यु भएको हो ।
बझाङका २३ जना बेपत्ता छन्
बझाङमा पहिरो जाँदा २३ जना बेपत्ता भएका छन्। जिल्लाको थलारा गाँउपालिका वडा नम्बर ४ डिख्लामा मंगलबार बिहान ४ बजे पहिरो जाँदा २३ जना बेपत्ता भएको शान्ती मावि पाराकाट्नेका शिक्षक मदनबहादुर साउँदले जानकारी दिए। उनका अनुसार बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका ५ जना रहेका छन्।
गाउँभन्दा माथि ढोगदिना भन्ने ठाँउबाट पहिरो जाँदा दुई गाँउका स्थानीय विस्थापित भएका छन् भने ७ घर पुरिएका छन्।
कैलालीमा तीन जना बेपत्ता
कैलालीमा तीन जना बेपत्ता भएका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का ६१ वर्षीय खडक बहादुर घर्तिमगर, सोही ठाउँका ३५ वर्षीय बिक्रम घर्तिमगर र २६ वर्षीय खडक रानामगर बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरु कर्णालीमा माछा मार्न गएका थिए। उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।