दार्चुला। दार्चुलामा यातायात व्यवसायीले मनपरी भाडा लिदा यात्रु समस्यामा परेका छन् । विभिन्न यातायात समितिमा दर्ता भएका तथा नभएका गाडीहरुले मनपरी यात्रु बोक्दै भाडा असुल्ने गरेको गुनासो गरिएको छ ।
बर्षातमा अधिकांश ग्रामीण सडक अवरुद्व बनेका थिए । भर्खरै केहि सडक खुलेपनि नियमनकारी निकायले अनुगमन गर्न नसक्दा यात्रुहरु ठगिने तथा तोकिएको मूल्य भन्दा यात्रुहरुले दोब्बर भाडा तिर्नुपरेको गुनासो गरेका छन् । सबै क्षेत्रमा चल्ने गाडीहरुको अनुगमन र भाडा निर्धारण हुनु आवश्यक रहेको दार्चुलाका जनक धामीले बताए। मनपरी भाडा असुल्ने काम भइरहेको छ, उनले भने।
अहिले गोकुलेश्वर भएर खार, मार्मा पारिबगर हुँदै ओखल सम्म गाडी चल्ने गरेको छ । यस्ते खलंगा भएर गोकुलेश्वर, लटिनाथ, ग्वानी, मालिकार्जुन, पस्ती, मेलखेत, जोलजीवि, दत्तु धाप, काटै, तथा दुहुँको धारीसम्म गाडी चल्छन् । यी सबै सडक खण्डमा यात्रुहरुबाट विगतको तोकिएको मूल्य भन्दा बढि भाडा असुली भइरहेको यात्रुहरुले गुनासो गर्दै आएका छन् । नयाँ ट्याक खुलेका र असारयता बाढिपहिरो आएका सडक खण्डमा गाडीले मनपरी भाडा लिने गरेका हुन् । दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्वराज जोशीले यात्रु र व्यवसायीबाट भाडा र गाडीहरुको विषयमा ध्यानाकर्षण आएको भन्दै प्रहरीलाई अनुगमन एवं निरीक्षण गर्न आग्रह गरे। यस्तै उनले भाडाको विषयमा सबै व्यवसायीलाई बोलाएर एकरुपता कायम गरिने जानकारी दिए ।