धनगढी। उड्न लागेको विमान धावन मार्गको बीचमा रोकिएपछि धनगढी विमानस्थल अवरुद्ध बनेको छ । धनगढी विमानस्थलबाट बाजुरा जाने समिट एयरको जहाजमा समस्या आएको हो।
सो जहाजको टायरमा समस्या आएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले जानकारी दिए। टायरमा खराबीका कारण सो जहाज उड्न नसकेर धावनमार्गमा रोकिएपछि अहिले धनगढी विमानस्थल अवरुद्ध भएको छ । सो विमानका कारण यहाँबाट काठमाडौंंका लागि उड्ने श्री एयरलाइन्सको जहाज पनि उड्न पाएको छैन ।
समिट एयरको जहाज ग्राउण्डेड भएको र धावनमार्गबाट हटाउने प्रयास भइरहेको प्रमुख भट्टले जानकारी दिए । ‘पाइलटले इन्जिनीयरसँग सल्लाह लिइरहनु भएको छ । सम्भवतः केही समयमा अवरोध हट्छ होला’, उनले भने। सो जहाज उड्न नसकेपछि काठमाडौंबाट केही समयमा धनगढी आउने बुद्ध एयरको जहाजको उडान पनि प्रभावित हुनेभएको छ । समिटको जहाज धावनमार्गबाट हटाइएमा यहाँबाट श्री एयरलाइन्सको जहाज काठमाडौंंका लागि उड्न सक्ने र बुद्धको जहाज अवतरण हुने प्रमुख भट्टले बताए ।