अछाम। अछाममा जन्ती बोकेको बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। अछामको पन्चदेवल विनायक नगरपालिका –१ कुईकामा से १ च १७६३ नम्बरको बोलेरो जिप आइतबार राती दुर्घटनामा परेको हो। जिप दुर्घटनामा परी पञ्चदेवल विनायक नगरपालिकाको वडा नम्बर २ का १४ वर्षीय जीवन न्यौपाने, सोही वडाका १८ वर्षीय सर्प बोहरा र वडा नम्बर ३ का १७ वर्षीय जीवन जैसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
यस्तै पञ्चदेवल विनायक नगरपालिका वडा नं २ का १७ बर्षीय हिमाल नेपालीको उपचारका क्रममा जिल्ला अस्पताल अछाममा ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी १६ जना घाइते भएका छन् । घाइतेहरुमध्ये १४ जनाको जिल्ला अस्पताल अछाममा उपचार भईरहेको छ भने २ जनालाई नेपालगन्ज लगिएको प्रहरीले बताएको छ।जिप सडकबाट ३ सय मिटर तल खसेको जनाइएको छ। दुर्घटनामा घाइते हुनेमा घाइते भएका वडा नम्बर २ का मदन धामी र उपेन्द्र शाहीलाई नेपालगन्ज लगिएको छ। जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा नं. २ का ६५ वर्षीय कृष्ण देवकोटा, १५ वर्षीय भरत ढकाल, भवानी ढकाल, १४ वर्षीय जीवन धामी, १६ वर्षका जगत बिक, १६ वर्षकै हिक्मत आउजी, १७ वर्षका प्रेम नेपाली, १८ वर्षका सन्तोष ढकाल, १९ वर्षका दिपेन्द्र धामी रहेका छन्। यस्तै वडा नं.८ का २२ खम्म खनाल, वडा नं. ५ का १९ वर्षीय तपेन्द्र भण्डारी, १८ वर्षका दिक्षत भण्डारी र मंगलसेन नगरपालिका वडा नं.५ का मेघराज भाट पनि घाइते भएका छन्। उनीहरुमध्ये भरत ढकाल र सन्तोष ढकाललाई बयालपाटा अस्पताल रेफर गरिएको छ भने तपेन्द्र भण्डारी उपचारपछि घर फर्किएका छन्। अन्यको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।