धनगढी। कैलालीमा प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना अनुसार सीमानाका र बसपार्क क्षेत्रमा तालिम प्राप्त कुकुरसहित चेकजाँच गर्न सुरु गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले तयार पारेको चाडपर्व लक्षित सुरक्षा योजना अनुसार सीमा नाका, बसपार्क र बढी भिडभाड हुने क्षेत्रहरूमा तालिम प्राप्त कुकुरको प्रयोग गरेर चेकजाँच थालिएको हो । बसको सिट, आवतजावत गर्ने ब्यक्ती, बस्तुको तालिम प्राप्त कुकुरसहित चेकजाँच हुने जनाइएको छ ।
दसैँ, तिहार र छठ पर्वका बेला सीमा नाकाबाट हातहतियार र लागुऔषध जस्ता वस्तुको ओसारपसार हुन सक्ने कुरालाई मध्यनजर गर्दै चेकजाँचमा तालिम प्राप्त कुकुरको प्रयोग गरिएको जिल्ला कार्यालय कैलाली प्रहरीले जनाएको छ । जिल्लाको सुरक्षा व्यवस्थालाई त्रुटि रहित, भरपर्दो, विश्वसनीय र मजबुद बनाई जनजीवनलाई सुखमय बनाउनुका साथै जनताहरुलाई पूर्ण रूपमा सुरक्षाको प्रत्याभूति दिलाउन तालिम प्राप्त कुकुरहरू सहित चेकजाँच गर्न थालिएको हो।
सोही अनुसार शुक्रबार देखी जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुको कमाण्डमा खटिएको प्रहरी टोली र नेपाल प्रहरीका तालिम प्राप्त कुकुरहरुबाट धनगढी स्थित बसपार्क लगायतका स्थानहरुमा चेकजाँच गरिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले जानकारी दिए । साथै सीमा क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधिलाई दृष्टिगत गरेर चेकजाँचमा थप कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।