धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समाजमा शान्ति सुरक्षा, अमनचयन, कायममा प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
६६औँ प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालय धनगढीमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले समाजमा हुने बिभिन्न किसीमका अपराध न्यूनिकरण गर्न प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताएका हुन। प्रहरी एक्लैले मात्र समाजमा हुने गरेका सबैखाले अपराध न्यूनिकरण गर्न कठिनाई हुने भएकाले आमनागरिकको भूमिका पनि सकारात्मक हुनुपर्ने उनले जानकारी दिए ।
विभिन्न कठिनाईका बाबजुदपनि प्रहरीले नागरिकलाई सुरक्षा प्रदान गरिरहेको उनले भने। देशका अन्य ठाउँमा घटेका घट्नाको भन्दा सुदूरपश्चिममा सानो घट्ना हुँदा बढी चर्चा पाउने गरेको उनले टिप्पणी गरे । उनले प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै अपराध अनुसन्धानमा हुने ढिलाइले अपराधिको मनोबल बढ्दै गएर समाजमा शान्ती सुरक्षाको अवस्था खलबलिने अवस्थाबाट सतर्क रहनुपर्ने बताए । मुख्यमन्त्री भट्टले नागरिक र प्रहरीबीच सुमधुर सम्बन्ध कायम गरी अघि बढ्न जरुरी रहेको उल्लेख गरे ।
यस्तै कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले स्वदेश तथा विदेशमा रहेका प्रहरीका सकल दर्जा अधिकृत जवानहरुलाई सुख, शान्ति, समृद्धिका साथै सत्य, सेवा, सुरक्षणम्को मूल आदर्शलाई कार्यान्वयन गर्ने व्यवसायिक सफलता प्राप्त होस् भन्दै शुभकामना व्यक्त गरिन् ।मातृभूमिको सेवा, आम नागरिकको सुरक्षाका खातिर आफ्नो जीवन उत्सर्ग गर्नुहुने बीर प्रहरीप्रति उच्च सम्मान गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरीन् । कर्तव्य पालनाको सिलसिलामा घाइते तथा अपाङ्गता भएका प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्य लाभको कामना गरीन्। यस्तै बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त र डडेल्धुराकी अस्मिता धामीले न्याय पाउनुपर्ने बताईन्।
कार्यक्रममा कर्तब्य पालनाको सिलसिलामा प्राण आहुती गर्ने अमर प्रहरी प्रति श्रद्धाञ्जली अर्पण गर्दै सहादत प्राप्त गर्ने प्रहरी परिवार र प्रहरी संगठनलाई सहयोग पुर्याउने विभिन्न ब्यक्ति तथा संघसंस्थालाई सम्मान गरिएको थियो। कर्तव्य पालनाको सिलसिलामा गत बर्ष कार्तिक १ गते धनगढी १२ जुगेडा प्रहरी चौकीबाट राति ८ बजे डिउटीमा निस्केको बेला आपराधिक समुहको आक्रमणमा परि सहादत प्राप्त गर्ने प्रहरी सहायक निरीक्षक (असई) गोबिन्द बिककी श्रीमती पुजा बिक र प्रहरी जवान रामबहादुर साँउदकी श्रीमती खिमा लामा साउदलाई सम्मान गरिएको थियो । उनिहरुलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशी र सुदूरपश्चिम प्रदेश प्रहरी महिला संघकी अध्यक्ष पुष्पा कांडेलले सम्मान तथा प्रशंसा पत्र बितरण गरेका थिए ।