धनगढी। दसैँ तिहार लक्षित सुरक्षा योजना अनुसार कैलालीका ८ स्थानमा यात्रु सहायता कक्ष र दुई स्थानमा ‘रिफ्रेस सेन्टर’ स्थापना गरिएको छ।
कैलालीको त्रिनगर, मालाखेती, लम्की, टिकापुर, चिसापानी, सुख्खड र सडकपुरमा यात्रुहरुको सहज आवतजावत तथा सुविधाको लागि यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।साथै लामो रुपमा यात्रा गर्ने सवारी साधनहरुको लागि २ वटा स्थानमा रिफ्रेस सेन्टर समेत स्थापना गरिएको छ ।
यस्तै मंगलबार धनगढीस्थित बसपार्कमा पनि जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारी र जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वीरेन्द्र बोहराले यात्रु सहायता कक्षको स्थापना गरेका हुन्। उक्त कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक अधिकारीले दसैँ, तिहारमा हुने यात्रुको चाप, यात्रुमाथि हुन सक्ने अभद्र व्यवहार, यात्रु ठगिने सम्भावना लगायतका कुरालाई मध्यनजर गर्दै यात्रु सहायता कक्षको स्थापना गरिएको जानकारी दिए।
साथै चाडपर्वहरूमा विभिन्न कारणले यात्रुहरू ठगिने तथा अन्य समस्यामा पर्ने हुँदा कोही कसैले यस्तो किसिमको क्रियाकलाप नगर्न उनले अनुरोध गरेका छन् । यदि कोही कसैले यात्रुहरूलाई अनावश्यक दुःख हैरानी दिने जस्ता क्रियाकलाप गरेमा कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएका छन् ।यस्तै कार्यक्रममा सुदूरपश्चिम यातायात प्रा.लि.का कोषाध्यक्ष गोविन्द शाहले यात्रु सहायता कक्ष सञ्चालनले यात्रुहरुको सरल र सहज यात्रामा सहयोग पुग्ने र यातायात व्यवसायी कसैले पनि कानुन विपरीतका क्रियाकलाप नगर्न अनुरोध गरेका छन् ।



