धनगढी। जिल्ला प्रहरी कार्यालय कैलालीद्वारा तीन जना सशस्त्र प्रहरी सम्मानित भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले सशस्त्र प्रहरी बलका तीन जना गोताखोर कर्मचारीहरूलाई सम्मान सहित प्रशंसा पत्र प्रदान गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल नं.७ बाहिनी मुख्यालय, अत्तरिया, कैलालीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक वीरेन्द्र कार्की, जवानद्वय हरिश भट्ट र तिलक लामालाई सम्मान गरिएको हो । शनिवार जिल्ला प्रहरी कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै तीनै जनालाई प्रहरी उपरीक्षक विश्व अधिकारीले सम्मान स्वरूप प्रशंसा–पत्र प्रदान गरेका हुन।
भाद्र १८ गते जिल्लाको गोदावरी नगरपालिका–१ बस्ने १० र १४ वर्षका दुई जना बालकहरू बेपत्ता भएका थिए । उनीहरूको खोजतलास गर्दै जाँदा राती मनहरा नदीको किनारमा कपडा फेला परेका थिए। त्यस पश्चात् जिल्ला प्रहरी कार्यालय, कैलालीको अनुरोध र समन्वयमा परिचालित भई राती करिब साढे १ बजेको समयमा समेत नदीमा पसी अथक प्रयासका साथ खोजतलास गरिएको थियो ।
ती बालकहरूको शव उद्धारमा प्रदर्शन गरेको साहस, कार्य दक्षता, लगनशीलता, कर्तव्य परायणता र सहयोगको उच्च सम्मान गर्दै सशस्त्र प्रहरीका तीनै जना कर्मचारीलाई उल्लेखनीय, प्रशंसनीय एवं उत्कृष्ट कार्यको कदर स्वरूप प्रशंसा–पत्र प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए। जिल्लामा विपद् व्यवस्थापन तथा शान्ति सुरक्षा कायम गर्नमा सशस्त्र प्रहरी बलसँगको समन्वय र सहकार्य उल्लेखनीय एवं प्रभावकारी रहेको प्रहरी उपरीक्षक अधिकारीको भनाई छ । यसका लागि सशस्त्र प्रहरी बल नेपाल प्रति आभार व्यक्त गर्दै गुणस्तरीय नागरिक सेवा प्रवाहका लागि यो समन्वय र सहकार्य अझै प्रभावकारी हुँदै जाने प्रहरी उपरीक्षक अधिकारीले विश्वास व्यक्त गरे ।


