धनगढी। चाडपर्व मनाउन बिदेशबाट नेपाल फर्किनेहरुकालागी कैलालीमा २ वटा प्रवेश नाका तोकिएका छन् । बिदेशबाट नेपाल फर्किने र नेपालबाट प्रस्थान गर्ने नागरिकको सहज आवागमन गर्न नेपाल सरकार मन्त्रिपरिषदको निर्णय अनुसार कैलालीमा २ वटा प्रवेश नाका तोकिएका हुन ।
जिल्ला प्रशासन कार्यालयले बिहीबार जारी गरेको सुचना अनुसार भारतबाट आउनेहरुलाई धनगढी उपमहानगरपालिकाको त्रिनगर नाका र टीकापुर नगरपालिकाको खक्रौला नाकाबाट आउन दिने जनाएको छ। सम्बन्धित स्थानीय तह र जिल्ला स्वास्थ्य कार्यालयले हेल्प डेस्क स्थापना गरेर प्रवेशमा सहजीकरण गर्नुपर्ने प्रशासनले जनाएको छ।
यसैगरी, भारतीय नागरिकको हकमा नेपाल प्रवेश गर्दा ७२ घण्टा भित्र आरटी पीसीआरबाट कोरोना परीक्षण गरिएको नेगेटिभ रिपोर्टसहित अनलाइन फाराम भर्नुपर्ने छ ।नेपाल प्रवेश गर्न लागेकामध्ये शंकास्पद् व्यक्तिको एन्टिजेन विधिबाट परीक्षण गरिने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए । कोरोना नेगेटिभ रिपोर्ट आएमामात्रै प्रवेश गर्न दिइने कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालद्धारा जारी सुचनामा भनिएको छ ।