कञ्चनपुर। कोरोना महामारी सुरू भएसँगै बन्द भएको नेपाल–भारत मैत्री बस सेवा पुनः सञ्चालन हुने भएको छ। नेपाल सरकारले मैत्री बस सेवा पुनः सुरू गर्नका लागि भारतीय दूतावासमार्फत आवश्यक प्रक्रिया थालिसकेको र सञ्चालन तयारी गरिएको हो।
दुई देशका अधिकारीको सहमतिमा नेपालबाट भारत र भारतबाट नेपालतर्फ चल्दै आएको मैत्री बस सेवा अनिश्चितकालका लागि बन्द गरिएको थियो। कोरोनाभाइरसको संक्रमण रोक्नका लागि कञ्चनपुरको महेन्द्रनगरदेखि भारतको नयाँदिल्ली र देहरादुन बस सेवा अनिश्चितकालका लागि बन्द गरिएको थियो।
महेन्द्रनगरबाट भारतको राजधानी दिल्लीका लागि ५ र देहरादूनका लागि २ गरेर दैनिक ७ बस छुट्ने गरेका थिए। मैत्री बस सेवा सुरू भएपछि दुबै देशका यात्रुहरूलाई लाभ मिल्नेछ। यसका साथै सीमा क्षेत्रमा भारतीय भन्सारकर्मी, भारतीय प्रहरी र रिक्सा चालकबाट लुटिने समस्याको समेत अन्त्य हुनेछ ।