दार्चुला। दार्चुलाको अपिहिमाल गाउँपालिका र वडा कार्यालयमा लगाएको ताला ५ दिन बित्दासम्म अझै खुल्न सकेको छैन्। अपिहिमाल गाउँपालिकाको वडा नम्बर ३ को वडा कार्यालय सारेको भन्दै स्थानीयले तालाबन्दी गरेका हुन्।
गत बुधबारदेखि वडा नम्बर ३ को वडा कार्यालय र गाउँपालिका कार्यालयमा गत बुधबारदेखि ताला अझै खुल्न नसकेको हो । यता वडा नम्बर ३ का वडा अध्यक्ष समुद्रसिह कार्की भने वडा कार्यालय केन्द्र सार्ने कुनै निर्णय नभएको बताए। अहिले वडा विभाजन पनि भएको छैन्, उनले भने । केन्द्र सार्ने निर्णय पनि कहि छैन् । जनताले कुरा नबुझि तालाबन्दीमा उत्रिए । उनले तालाबन्दी खुलाउने विषयमा छलफल हुन नसकेको जानकारी दिए ।
गाउँपालिका अध्यक्ष धर्मानन्द मन्याल र आफुमाथि हातपातको प्रयास भए पछि वार्ता हुन सकेन, उनले भने, हामीले वार्ता टोली बनाएर समस्या समाधान गरौ भनेका छौ । यसैबीच अपिहिमाल गाउँपालिकाले विज्ञप्ती प्रकाशित गर्दै कार्यालयमा जनप्रतिनिधि र कर्मचारी नभएको बेला पूर्व जानकारीबीनै तालाबन्दी गरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणसिह धामीद्वारा हस्ताक्षरित विज्ञप्तीमा गाउँपालिकाको महा लेखा परिक्षण भइरहेको बेला वडा र पालिकामा भएका कर्मचारीलाई भित्रै थुनेर तालाबन्दी गर्नेलाई कारवाही गर्न माग गरिएको छ । यस्तै गाउँपालिका अध्यक्ष धर्मानन्द मन्याल घर जाने बेला ढुङ्गामुढा र हातपात गरेको घट्नाप्रति आपत्ति जनाउँदै दोषीलाई कारवाही गर्न माग गरिएको छ ।