कञ्चनपुर। नेकपा(एमाले) कञ्चनपुरले तत्कालिन महेन्द्रनगर नगर विकास समिति अवैध रुपमा जग्गा लिने पार्टी नेता कार्यकर्तालाई कारवाही गर्ने भएको छ । एमालेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा दोषी देखिने कार्यकर्तालाई कारवाही गर्ने धारणा बाहिर ल्याएको हो ।
एमाले कञ्चनपुर इन्चार्ज निरु पालले नगर विकास समितिको अवैध जग्गा प्रकरणमा मुछिएका नेता कार्यकर्तालाई कारवाही गरिने बताइन् । ‘जुनसुकै तहका भए पनि तिनलाई कारवाही हुन्छ’ एमाले पार्टी कार्यालय मदन आश्रित सदनमा बुधबार आयोजित कार्यक्रममा उनले भनिन्,‘त्यसमा संलग्न भएको पुष्टि हुनुपर्छ ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय टोलीले केही दिनदेखि नगर विकास समितिको अवैध जग्गा प्रकरणमा छानबिन गरिरहेको छ। अवैध जग्गा लिनेमा सबैभन्दा बढी एमाले, माओवादी केन्द्र, नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा लगायत दलका नेता कार्यकर्ता छन् । उनीहरुसंगै यी दल सम्बद्ध पत्रकारहरुले पनि अवैध रुपमा जग्गा लिएका छन् । नगर विकास समिति स्रोतका अनुसार अवैध जग्गा लिनेमा झण्डै दुई सय जना छन् ।
उनीहरुले नगर विकास समितिको लिज र टिप्पणीबाट जग्गा लिएका छन् । तीमध्ये टिप्पणीबाट ३६ जनाले जग्गाधनी पूर्जा बनाएर जग्गा लिएका छन् । उनीहरुमाथि अवैध जग्गा लिन नक्कली कागजात बनाएको आशंका गरिएको छ । एमाले पार्टी कार्यालयमा पत्रकारहरुले नगर विकास समितिको अवैध जग्गामा संलग्न नेता कार्यकर्तालाई पार्टीको जिम्मेवारी दिने नदिने प्रश्न सोधेका थिए । त्यस प्रश्नमा भने एमाले नेताहरु मौन देखिएका थिए । एमाले इन्चार्ज पाल सहित जिल्ला अध्यक्ष बीर बहादुर थापा, सचिव सुरेन्द्र विष्टले नगर विकास समितिको जग्गा प्रकरणमा मुछिएका नेता कार्यकर्तालाई कारवाही हुने बताए ।
एमाले जिल्ला अध्यक्ष थापाले अवैध जग्गा छानबिनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धानमा सहयोग गरिने बताए । ‘पहिला पनि सहयोग गरेकै थियो, अहिले अनुसन्धान नै भइरहेको छ’ उनले भने,‘पहिला पनि सहयोग ग¥यौ, अहिले पनि सहयोग गर्छौ ।’ एमाले जिल्ला सचिव विष्टले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनबाट दोषी देखिने नेता कार्यकर्तालाई सार्वजनिक गरी कारवाही गरिने बताए । ‘अवैध जग्गा कारोबार रोक्न आफूहरु पहिलादेखि सक्रिय रुपमा लागेको हौ, अवैध जग्गा मन्त्रिपरिषदबाट खारेज गरिएको छ’ उनले भने, ‘पहिला दोषी हुन् भन्ने कुरा आउला त्यस आधारमा सार्वजनिक गछौ ।’
नगर विकास समितिबाट अवैध जग्गा लिएका केही व्यक्ति सर्वोच्च अदालतसम्म पुगेका छन् । नगर विकास समितिमा स्थानीय तह मातहत आएपछि आन्तरिक रुपमा छानबिन अघि बढेको उनले जनाए । नगर विकास समितिले अवैध रुपमा दिएको लिज र जग्गाधनी पूर्जा विरुद्ध ६ वर्ष अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अहिले त्यहीं उजुरीका आधारमा छानबिन अघि बढेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयका उप सचिव ओम प्रकाश बराल नेतृत्वको टोलीले अवैध जग्गाको छानबिन गरिरहेको छ । अख्तियारमा तत्कालिन महेन्द्रनगर नगर विकास समिति स्वामित्वमा रहेको जग्गा अनियमित ढङ्गले बिक्री गरिएको र कानुन मिचेर लिजमा दिइएको लगायतका उजुरी परेको थियो । त्यसरी जग्गा लिनेमा झण्डै २ सय जना छन् ।
अख्तियार दुुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका सूचना अधिकारी हरिशचन्द्र जोशीले अख्तियार टोलीले जग्गा लिने व्यक्तिहरुको बयान लिने कार्य गरिरहेको बताए । ‘उजुरी अनुसार छानबिन अघि बढेको छ , त्यस अनुसार बयान भई रहेको छ’ उनले भने, ‘छानबिन सकिएपछि मात्रै टोली फर्किन्छ ।’ टोलीले भीमदत्तनगर विकास समितिसँग छानबिनका लागि आवश्यक पर्ने कागज पत्र मागेको छ । मालापोत तथा नापी कार्यालयसँग सम्बन्धित कागजात पनि झिकाइएको छ । २०३५ देखि हाल सम्म विभिन्न राजनीतिक दलमा आवद्ध व्यक्ति अध्यक्ष भएका छन् । तीमध्ये २०६१ पछि नगर विकास समितिको अध्यक्षको कार्यकालमा अवैध रुपमा जग्गा कारोबार गरिएको छ । अध्यक्षको ठाडो आदेशमा जग्गाको पूर्जा दिइएको छ । त्यसरी जग्गाधनी पूर्जा लिनेमा केही पत्रकार पनि छन् ।


