काठमाडौं। चालु आर्थिक वर्षका लागि सरकारले धानको न्यूनतम सर्मथन मूल्य क्विन्टलमा १७ रुपैयाँले बढाएर तोकेको छ । भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष ०७८/७९ का लागि मोटा र मध्यम किसिमको धानको न्यूनतम सर्मथन मूल्य तोकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
चालु आर्थिक वर्षका लागि मोटा धानको प्रति क्विन्टल मूल्य दुई हजार ७५२ र मध्यम किसिमको धानको मूल्य दुई हजार ९०२ रुपैयाँ तोकिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाश सञ्जेलले बताए।
यस वर्ष तोकिएको धानको सर्मथन मूल्य गत वर्षकोभन्दा प्रति क्विन्टल १७ रुपैयाँले बढी भएको प्रवक्ता सञ्जेलले जानकारी दिए । गत वर्ष असारे धान लगाउनु पूर्व नै सरकारले धानको सर्मथन मूल्य तोकेको थियो । सो आर्थिक वर्षमा किसानले मोटा धान प्रतिक्विन्टल २ हजार ७ सय ३५ र मध्यम धानको मूल्य २ हजार ८ सय ८५ रुपैयाँले तोकेको थियो ।