कञ्चनपुर। कञ्चनपुरमा ३ जना फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र मातहतबाट खटीएको प्रहरी टोलीले ३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो । डाँका मुद्दाका फरार प्रतिवादी साबिकको लक्ष्मीपुर गाविस ८ भैसौरीका जंगे भनिने जगतबहादुर बुढाथोकी ३८ बर्ष पछी पक्राउ परेका छन्।
उनले २०४० पुस १० गते लारा डिष्टलरी बेलौरीबाट अन्तशुल्क वापतको सरकारी रकम पुर्नवासमा रहेको राष्ट्रिय वाणिज्य बैकमा जम्मा गर्न गइरहेका कर्मचारीबाट रकम रु ४ सय ५९ रूपैँया भएको झोला कञ्चनपुरको लक्ष्मीपुर र त्रिभुवनबस्तीको बिचको जंगलको बाटोमा लुटेका थिए। कर्मचारीलाई जंगलको बिचमा रोकी कुटपिट गरी झोलामा रहेको सरकारी रकम रु ४ सय ५९ समेत लुटेर फरार रहेका थिए।
जिल्ला अदालत कञ्चनपुरले २०४२ बैसाख २५ गते ३ वर्ष १ महिना १८ दिन कैद फैसला सुनाएको थियो। उनलाई खोजतलास गर्दै जाँदा निजकै घरबाट कञ्चनपुर प्रहरी टोलीले आज पक्राउ गरेको हो । पक्राउ गरी कञ्चनपुर जिल्ला अदालतमा उपस्थित गराईएकोमा अदालतबाट कैदी पुर्जी जारी भई कैद भुक्तानको लागी कारागार चलान गरिएको छ।
यस्तै, हातहतियार कसुरका २ जना फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत कञ्चपुरबाट २०७६ पुस २४ गते ३ वर्ष कैद र ३० हजार जरिवाना पाएका शुक्लाफाँटा नगरपालिका ९ का २४ वर्षीय बर्खे चौधरी र सोही मितिमा २ वर्ष कैद र २० हजार जरीवाना पाएका कृष्णपुर नगरपालिका ३ का ७९ वर्षीय गोपाल सुनारलाई प्रहरीले पक्राउ गरेको हो। तीनै जना प्रतिवादीहरूलाई कैद भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक शिद्ध राज न्यौपानेले जानकारी दिए ।