धनगढी । सुदूरपश्चिम प्रदेशमा बर्सेनि सडक दुर्घटना हुने क्रम बढ्दो रहेको पाइएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार सडक दुर्घटनामा मृत्यु र घाइते हुनेको संख्या पनि बढेको देखीएको छ।
पछिल्लो ५ वर्षमा भएका सडक दुर्घटनामा ८ सय ४३ जनाले ज्यान गुमाएका प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ । कार्यालयका अनुसार आर्थिक वर्ष ०७३/७४ देखि ०७७/७८ सम्म ठूला–साना गरी १ हजार ५ सय ३० वटा दुर्घटना भएका छन् । २०७३/०७४ मा १ सय ८४ दुर्घटना भएकोमा १ सय ३२ जनाको मृत्यु र ३ सय ४७ जना घाइते भएका थिए ।
२०७४/७५ मा दुर्घटनाको संख्या घटे पनि मृत्यु संख्या भने बढेको छ । यो वर्ष १ सय ६४ दुर्घटनामा १ सय ५८ जनाको मृत्यु भएको थियो । यसैगरी, ०७५/७६ मा २ सय ३४ दुर्घटनामा २ सय २३ जनाले ज्यान गुमाएका थिए । जसमध्ये १ सय ४२ पुरुष, ४७ महिला र ३४ बालबालिका छन् । ०७६/७७ मा ३ सय ८६ र ०७७/७८ मा ५ सय ६२ सवारी दुर्घटना भएका छन् । जसमा क्रमशः १ सय ४३ र १ सय ८७ जनाको मृत्यु भएको तथ्यांक छ । पाँचै वर्षमा मोटरसाइकल सबैभन्दा धेरै दुर्घटनामा परेको देखिन्छ ।
सडक दुर्घटना बढ्नुमा सवारी चालकको लापरबाही नै प्रमुख कारण रहेको ट्राफिक प्रहरीले औंल्याएको छ । ट्राफिक नियमविपरीत तीव्र गति, जथाभावी ओभरटेक, चालक निदाउने, मादक पदार्थको सेवनलगायत कारणले सवारी दुर्घटना हुने गरेको पाइएको प्रदेश प्रहरी प्रमुख वामदेव गौतम बताउँछन् । ‘दुर्घटनामा कतिपय अवस्थामा यात्रुहरूको पनि कमजोरी रहने गरेको देखिएको छ,’ उनले भने, ‘यान्त्रिक गडबडी पनि दुर्घटनाको अर्को कारण हो । क्षमताभन्दा बढी भार बोक्नु, सवारीसाधन पुराना हुनु तथा ब्रेकफेल हुँदा पनि दुर्घटना भएको पाइन्छ ।’दुर्घटनाको अर्को कारणमा मौसम पनि हो ।
कुहिरो लाग्नु, वर्षा हुनु, बाढीपहिरोका कारणले पनि सवारी दुर्घटना भइरहेका छन् । सडकको दुरवस्था पनि दुर्घटनाको मुख्य कारणमै पर्ने गौतमको भनाइ छ । उनका अनुसार सुदूरपश्चिममा अधिकांश सडकहरू जोखिमयुक्त छन् । ‘खाल्डाखुल्डी, हिलो र धुलोका कारण तथा ग्रामीण क्षेत्रमा मापदण्डविपरीत मनपरी खनिएका सडकमा दुर्घटनाको दर बढी छ,’ उनले भने, ‘तराई क्षेत्रका सडकमा भने छाडा चौपायाले पनि दुर्घटना बढाएको देखिन्छ ।’ प्रहरी तथा प्रशासनले दुर्घटना न्यूनीकरणका लागि विभिन्न संयन्त्र परिचालन तथा जनचेतनामूलक कार्यक्रम गरिरहेको बताए पनि बढ्दो दुर्घटनाको तथ्यांकले त्यसको प्रभावकारिता न्यून मात्रै रहेको देखाउँछ । प्रहरीले भने मुख्य राजमार्गहरूमा सीसीटीभी क्यामेरा जडान गर्ने, दुर्घटनाग्रस्त क्षेत्रमा त्यसको जनाउ दिनेगरी सांकेतिक बोर्ड राख्ने, समयसमयमा चालक र यात्रुसमेतलाई विभिन्न ट्राफिक नियमसम्बन्धी जानकारी तथा तालिम दिने काम गरिरहेको दाबी गरेको छ ।