धनगढी। नेपाल विद्युत प्रधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियामा लगाइएको ताला खुलाएको छ । आज(मंगलबार) आवेदक, विद्युत प्राधिकरण र ठेकेदार बिच त्रिपक्षिय छलफल गर्ने सहमती भएपछि ताला खुलेको हो ।
ठेकेदार मार्फत राख्ने कर्मचारी छनोटमा मनोमानी गरेको आरोप लगाउँदै विरोधमा तालाबन्धि गरिएको थियो । कार्यालयले नयाँ ठेकेदार मार्फत १ देखि ३ तहका ९८ कर्मचारी छनोटमा मनोमानी गरिएको भन्दै उक्त पदका लागि आवेदन दिएकाहरुले विरोध जनाएका हुन।आवेदन दिएकाहरुले नयाँ ठेकेदार मार्फत कर्मचारी छनोट प्रक्रियामा सहभागि भएको भएपनि कुनै जानकारी र मुल्याङ्क नगरी कर्मचारी नियुक्ती गरेको आरोप लगाएका छन ।
विरोधमा उत्रिएका उनीहरुले सोमबार विद्युत प्रधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियामा तालाबन्दी समेत गरेका थिए। विद्युत प्राधिकरणले यसअघि ठेकेदार मार्फत नै २ बर्षका लागि करारमा राखेका कर्मचारीको म्याद सकिएपछि नयाँ बोलपत्र आह्वान गरेको थियो । सोही बोलपत्रका आधारमा ठेक्का पाएको डिलस मल्टी सेक्युरेटीले पुराना कार्यरत कर्मचारीलाई बेवास्ता गर्दै आफूखुसि प्रक्रिया नपुगाई नयाँ कर्मचारी राखेको आवेदक दिएकाहरुले गुनासो गरेका छन । ठेकेदार कम्पनी डिलस मल्टी सेक्युरेटी अध्यक्ष प्रमोद आचार्यले आफूहरुले नयाँ ठेक्का मार्फत अहिले सम्म एक कर्मचारी पनि फिल्डमा नपठाएको बताए । उनले पुराना कर्मचारीलाई पहिलो प्राथमिकता राखेको र सबैको कागजात संकलन भइरहेको बताए ।