धनगढी। अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गोदावरी नगर कमिटीले महिला हक हितको पक्षमा माग राख्दै गोदावरी नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । अखिल नेपाल महिला संघले सोमबार नगरपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत बसन्त कुमार खत्रीलाई बिभिन्न ११ बुदे माग राख्दै ज्ञापन पत्र बुझाएको हो ।
नेकपा माओवादी केन्द्र निकट संघले बुझाएको ज्ञापन पत्रमा गोदावरी नगर क्षेत्रमा भएका स्वास्थ्य संस्था, शिक्षण संस्था, विद्यालय, विश्वविद्यालयको वरपर निश्चित दुरी सम्म धुम्रपान, मद्यपान, जुवातास निषेधित क्षेत्र घोषणा गर्न माग गरिएको छ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गोदावरी नगर कमिटी अध्यक्ष जानकी जेठारा र सचिव चन्द्रा विष्टको हस्ताक्षर रहेको ज्ञापन पत्रमा नगर क्षेत्रका माध्यमिक तहसम्म किशोरी मैत्री वातावरण बनाउन किशोरीहरुलाई आराम कक्ष, शौचालयको व्यवस्था गरी स्यानेटरी प्याडको सहज व्यवस्था गर्न माग गरिएको छ ।
ज्ञापन पत्रमा लैङ्गिक उत्तरदायी बजेट व्यवस्था गरी १० प्रतिशत बजेट विनियोजना गर्न, आमाको नामबाट नागरिता पाउने वातावरण सहज बनाउन, छोरा सरह छोरीलाई पैत्रिक सम्पतिमा समान अधिकार व्यवस्था लागु गर्न, नगरपालिकालाई महिला हिंसा मुक्त पालिका घोषणा गर्न, प्रतेक स्थानिय तहमा अल्पकालिन सुरक्षित गृह (सेफ हाउस) को व्यवस्था गर्न माग गरिएको छ । त्यस्तै ११ बुदे ज्ञापन पत्रमा सबै गर्भवती महिलाहरुलाई अस्पतालमै सुत्केरी हुने व्यवस्था मिनाउन, हिंसा पीडित महिलाहरुको लागि न्यायिक समिति मार्फत तत्काल न्याय दिन र छोरीको लागि जम्मेपछि खाताको व्यवस्था र माध्यमिक तहसम्म सम्म निशुल्क शिक्षाको व्यवस्था गर्न माग गरिएको छ ।