कैलालीको गौरीगंगा नगरपालिकामा लगाएको ताला ५ दिनपछि खुलेको छ । पाँच दलीय गठबन्धनले भदौ २८ गते नगरपालिकामा भ्रष्ट्राचार, अनियमितता बढेको भन्दै तालाबन्दी गरेको थियो ।
पाँच दलीय गठबन्धनले नगरपालिकालाई नदीजन्य पदार्थ बिक्रीबाट भएको आम्दानीको हिसाब माग, विद्यालयमा विषयगत शिक्षक पदपूर्ति गर्ने, नगरपालिकाको बेरुजु फर्चौट गर्नुपर्ने लगायतका ६ बुँदे माग राखेको थियो।नगरपालिका आन्दोलत पक्ष संग भएको कुरा कार्यापालिका बैठकमा अनुमोदन गर्ने विषयमा सहमती भएको कार्यपालिका सदस्य भक्तराज बिश्वकर्माले जानकारी दिए।
‘कार्यपालिका बैठकमा असमतीका मुद्धाहरु अनुमोदन गर्ने सहमती भएको छ’, उनले भने । ‘यसमा ५ राजनीतिक दल, मेयर र कार्यपालिका सदस्य बीच सहमती भएको छ ।’ उनले नगरपालिकामा आर्थिक बर्ष २०७६/०७७ र २०७७/०७८ को नदिजन्य पदार्थको आयव्यय, राजस्व, कृषि शाखा, स्वास्थ्य शाखा, शिक्षा शाखा र नगरपालिकाका गाडीको आयव्यय, बेरुजु रकम लगाएको बिषयमा कार्यपालिका सदस्यको संयोजकत्वमा पाँच राजनीतिक दलका जनप्रतिनिधि कार्यपालिका सदस्यको प्रतिनिधित्व हुनेगरी सात सदस्यीय छानविन समिति यहि असोज ६ गते बस्ने कार्यपालिका बैठकबाट कार्यान्वयनमा ल्याउने सहमतीमा तालाबन्दी खोलिएको जानकारी दिए ।
कार्यालयमा तालाबन्दी गर्दा नगरपालिकाका सम्पूर्ण कामकाजहरु प्रभावित भएका थिए । समस्या समाधानका लागि समिति बनाउने बिषयमा सहमती हुन नसक्दा लम्बीएको तालाबन्दीले सेवाग्राहीहरुलाई पर्ने प्रत्यक्ष असरलाई मध्यनजर गर्दै सदस्यहरुको अपिलमा ताला खोलिएको नेपाली काँगैस नगर सभापति काशीराम शर्माले भने । नगरप्रमुख भीम बहादुर देउवाले आन्दोलत पक्षले उठाएका मागहरु आफुहरु गम्भिर भएको हुँदा सम्बोधन गर्ने मिल्ने मुद्धामा आफु सहमत भएको बताए । उनले अघिल्लो आर्थिक बर्षमा पटक–पटक सुचना निकाल्दा कसैको पनि निवेदन नपरेको बताए ।