धनगढी। सुदूरपश्चिममा आज धुमधामका साथ ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ। विजय उत्सवका रुपमा मनाइने यो पर्वमा बुढी अर्थात् राक्षसीे पुतनालाई पोल्ने गरिन्छ ।
परम्परागत किंबदन्तीअनुसार भगवान श्री कृष्णले राक्षसी प्रवृतिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला (गोठाला) हरुले पुतनाको शव दहन गरेको कथन रहेको छ। द्वापर युगमा विशाक्त दुध सेवन गराई बालबालिकाहरुको ज्यान लिने गरेकी राक्षसी पुतनालाई भगवान श्री कृष्ण दुध चुसी मारेको तथा विशाक्त दुध चुस्दा पनि भगवान श्री कृष्ण बाँचेको खुशियालीमा असोज संक्रान्तीका दिन यो पर्व मनाईने गरिएको छ।
सुदूरपश्चिममा भाद्र संक्रान्तीका दिन गाडिएको सल्लाको वा अन्य बोट विरुवाको लिङगोमा आज साँझपख बुढी पोलिने र सोही ठाउँमा काक्रा खाँदै लुतो बाँड्ने प्रचलन छ। ओल्के संक्रान्तिका दिन गोठालाहरुले बुढीको प्रतिमा राखेपछि दैनिक त्यसमा रुखका हाँगाहरु थप्ने गर्छन्। दैनिक थप्दा केही स्थानमा निकै ठूलो बुढी बन्ने गर्छन्। गाई गोठालाहरुले बाँझा जग्गा र दोबाटामा सल्ला, बाँज, खर्सुलगायत रुखहरुबाट निर्मित बुढीको पुतनालाई साँझपख जलाउने गरिन्छ। दोबाटोमा जलाएको पुतना राक्षसनीको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाउने चलन पनि रहेको छ। यसो गरेमा पशु चौपायमा कुनै रोग नलाग्ने धार्मिक जनविश्वास छ।
ओल्के संक्रान्तिका दिन गाउँ नजिकका अलि अग्लो टाकुरामा सबै जना मिलेर रूखका हांगा बिंगा झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । यो थुप्रोलाई स्थानिय भाषामा “बुढी हालेको’’ भन्ने गरिन्छ। यो बूढीलाई नै आज असोज संक्रान्तिका साँझ प्रत्येक घर घरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर ’बूढी पोल्ने’ पर्व मनाउने परम्परा रहेको छ। पुतनाको स्वरुपमा तयार गरी सिंगारिएको बाबियोलाई आज बिहान गोठबाट निकालेर दिनभरी घाममा सुकाइ साँझ दोबाटोमा लगेर जलाउने गरिन्छ। साँझपख काँक्रो चपाएर जलेको पुतनामा फाल्दै जोडले थुई बुढी थुई भन्ने गर्छन्। त्यस्तै बुढी पोलेर घर फकिर्ने क्रममा बाटो–बाटोमा बलेको दियो पनि गाड्दै जाने प्रचलन छ। यस पर्वमा रातभरी डेउडा, भुवा जस्ता साँस्कृतिक कार्यक्रम गरिने चलन पनि छ।
यस्तै,आजै विश्वकर्मा दिवस मनाइदै छ । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । आज पूजा गरी शनिबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ ।
नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पूरा गरेर विश्वकर्माको पूजा आराधनाको तयारी गरिएको जनाइएको छ । आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ ।
एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । प्राचीन भारत वर्षका चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रका बीचमा रहेको विश्वास गरिन्छ ।