कञ्चनपुर। कञ्चनपुरको बेलौरी नगरपालिकामा पर्ने पर्यटकीय क्षेत्र बन्धातालमा डुबेर सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ ।
कञ्चनपुरको बेलौरी नगरपालिका ३ खिरियाका जितबहादुर चौधरीको बन्धातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । साथीहरुसंगै बन्धातालमा पौडी खेल्ने क्रममा बुधबार दिउँसो साढे ३ बजेको समयमा वेपत्ता भएका थिए ।वेपत्ता भएको खोजीका लागि बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले करिब २ घण्टा पछी शव फेला पारेको हो।
मृतक चौधरीको शव पोष्टमार्टमका लागि अहिले श्रीपुर स्वास्थ्य चौकी बेलौरीको शव गृहमा राखिएको र घटनाका विषयमा थप अनुसन्धान जारी प्रहरी निरीक्षक खड्काले जानकारी दिए। ४ वर्ष अघि सशस्त्र प्रहरीको जवान पदमा कार्यरत चौधरी हाल कंचनपुरको झलारी स्थित ३५ नम्बर गण शैलेश्वरीमा कार्यरत थिए । प्रहरी श्रोतकै अनुसार उनी केही दिन अघि मात्रै घर बिदामा आएको बुझिएको छ ।
यस्तै,बुधबार साँझ कञ्चनपुरको बेदकोट नगरपालिका स्थित दैजी–बेलडाँडी सडक खण्डसँगै रहेको नहरमा पौडी खेल्ने क्रममा बेदकोट नगरपालिका वडा नम्बर १० बस्ने ३५ वर्षीय लक्ष्मण पन्त डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता पन्तको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक शिद्धराज न्यौपानेले जानकारी दिए ।