धनगढी। काठमाडौँबाट धनगढीका लागि उडेको बुद्ध एयरको जहाज कैलालीको आकाशमा होल्डपछि नेपालगञ्जमा फर्केर अवतरण गरिएको छ ।
प्रतिकुल मौसमका कारण कैलालीको घोडाघोडी नगरपालिकाको आकाशमा झण्डै आधा घण्टा होल्ड गरेको बुद्ध एयरको जहाज मौसममा सुधार नभएपछि फर्केर नेपालगञ्जमा अवतरण भएको हो। साँझ पाँच बजेर ५ मिनेटमा काठमाडौँबाट उड्नु पर्ने जहाज करीव ६ बजे उडेको थियो।
सवा सात बजे कैलालीको आकाशमा पुगेको जहाज धनगढी विमानस्थलमा अवतरण गर्न सक्ने अवस्था नभएपछि फर्केर नेपालगञ्ज गएको विमानस्थलले जनाएको छ। मौसममा सुधार हुने आशा गरेर झण्डै आधा घण्टाभन्दा बढि कैलालीको आकाशमा जहाजलाई होल्ड गरेका पाईलटहरुले मौसममा सुधार नआएपछि नेपालगञ्ज लगेर अवतरण गरेका थिए।
पुनः ८ बजेर ५१ मिनेटमा धनगढी अवतरण हुने विमानस्थलले जनाएको छ। धनगढीका यात्रुहरु बोकेको उक्त जहाज नेपालगञ्जमा ईन्धन भरेर धनगढीका लागि उड्ने तयारीमा रहेकोबुद्ध एयर धनगढीका ईञ्चार्ज बुधराम माझीले बताए । यतिबेला काठमाण्डौं जानका लागि यात्रुहरु धनगढी बिमानस्थलमा जहाज कुरेर बसेका छन् । काठमाडौँबाट जहाजमा आईरहेका आफन्तहरुलाई लिन बिमानस्थल पुगेका यात्रुका आफन्तहरु पनि बिमानस्थल बाहिर बिमानको पखाईमा बसेका छन् ।