अछाम। अछाममा ३ दिनको अवधिमा २ जना महिलाले बाटोमै शिशुलाई जन्म दिएकी छन् । बिहीबार जिल्लाको ढकारी गाउँपालिका वडा न २ भलाने निवासी पवित्रा देवी बुढाले स्वास्थ्य संस्था लैजाँदा बाटोमै बच्चालाई जन्म दिएकोमा शनिवार जिल्लाको रामारोशन गाउँपालिकाकी एक महिलाले पनि बाटोमै शिशुलाई जन्म दिएकी हुन् ।
जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ६ भटाकाटिया परिनवकी २५ बर्षीया नन्दा साउँदले बान्नीगढी जयगढ गाउँपालिकाको वडा नम्बर ५ कालिका बाच्कोट नजिकै बाटोमै बच्चालाई जन्म दिएकी हुन् । यसअघि स्वास्थ्य जाँचका क्रममा उनको पेटमा बच्चा उल्टो रहेको देखिएपछि उनलाई प्रसूति गराउन बयालपाटा अस्पतालमा आउन भनिएको थियो । प्रसूति गराउनका लागी रामारोशन गाउँपालिकाको भटाकाटियाबाट हिडेरै बयालपाटा अस्पतालमा आउने क्रममा शनिवार साँझ करिब ५ः३० बजेतिर उनले बाटोमै किशोरीलाई जन्म दिएकी हुन् ।
उनीसँगै स्याहार सुसारका लागी आएकी जमुना साउँदले बाटोमै शिशुलाई जन्म दिएको बारे स्थानीयलाई खबर गरेपछि कालिका स्वास्थ्य चौकीका अहेव अविरल साउँद लगायतले उनलाई कालिका स्वास्थ्य चौकी पुर्याएका थिए । हाल आमा र नवजात शिशुको अवस्था सामान्य रहेको कालिका स्वास्थ्य चौकीमा कार्यरत अनमी लीला साउँदले जानकारी दिइन् । वर्षातका कारण जिल्लाका ग्रामिण सडकमा सवारी साधन संचालनमा अनाउँदा सुत्केरी बेथा लागेपछि अस्पताल सम्म पुग्न समस्या हुने गरेको छ ।