धनगढी। सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी तोकिएको गोदावरी नगरपालिकाको तेघरीमा भौतिक पूर्वाधार निर्माण लगायतका कार्य अघि बढाउन माग गरिएको छ ।
राजधानी घोषणा भएको तीन वर्षसम्म कुनै काम हुन नसकेको भन्दै नेकपा माओवादी केन्द्र र नेकपा(एकीकृत समाजवादी)पार्टीले भौतिक संचरना निर्माणको काम अघि बढाउन माग गरेका हुन् । बिहीबार मुख्यमन्त्री त्रिलोचन भट्ट र भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीलाई ज्ञापनपत्र बुझाउँदै दुवै पार्टीले प्रदेश राजधानी घोषित क्षेत्रमा यथाशिघ्र आवश्यक काम थाल्न माग गरिएको हो।
नेकपा(एकीकृत समाजवादी)पार्टीका जिल्ला सदस्य खम्म बुढा र माओवादी केन्द्रका जिल्ला सदस्य तथा गोदावरी नगर संयोजक धर्मसिह कुँवरले बुझाएको ज्ञापन पत्रमा अत्तरिया बसर्पाकलाई प्रदेशस्तरीय बसपार्क बनाएर स्नतरोन्नती तथा कालोपत्रेको काम अघि बढाउन पनि माग गरिएको छ । गोदावरी विकास बोर्ड गठन गरेर धार्मिक महत्व बोकेको गोदावरी क्षेत्रको विकास गर्न र गोदावरी नगरपालिका–६को बिजौरादेखि बडैया जाने बाटो एसियाली विकास बैँकको लगानीमा भइरहेको सडकलाई स्थानीयको भावनाअनुुसार निर्माण गर्न समेत माग उनीहरुले गरेका छन् ।
ज्ञापनपत्र बुुझ्दै मुख्यमन्त्री त्रिलोचन भट्टले जग्गाको भोगाधिकार प्राप्त नहुँदा प्रदेश राजधानीमा भौतिक संरचना निर्माण लगायतका काम गर्न नसकिएको बताए । जग्गाको भोगाधिकारका लागि पठाएको प्रस्ताव तत्कालीन केपी ओली नेतृत्वको सरकारले ७ महिनादेखि थन्काएको दाबी गर्दै उनले जग्गा प्राप्ती हुनेबित्तिकै भौतिक संरचना निर्माणको काम थालिने जनाए । डीपीआर निर्माणको काम भने चाडै थालिने उनले बताए ।
अन्य मागका सम्बन्धमा आफू सकारात्मक रहेकाले छलफल गरेर पूरा गर्ने प्रतिबद्धता समेत जनाएका छन् । १२ असोज २०७५ मा गोदावरी नगरपालिका २ र ४ को तेघरी वन क्षेत्रमा प्रदेशको राजधानी घोषणा गरिएको थियो । राजधानी घोषणाका लागि गठित समितिको प्रस्ताव प्रदेशसभाबाट तत्कालीन नेकपा नेतृत्वको सरकारले पारित गरेको थियो । तर राजधानी घोषणा भएको तीन वर्षसम्म प्रदेश सरकारले निर्णय कार्यान्वयन गर्न नसकेको हो । प्रदेश सरकारले राजधानी पूर्वाधार विकास समिति गठन गरिसकेको छ । तर जग्गा प्राप्ती नभएकै कारण काम अगाडी बढाउन नसकिएको पूर्वाधार विकास समितिले बताउँदै आएको छ ।