कञ्चनपुर। एक दशकअघि कञ्चनपुरमा गिद्धका गुँडहरू निकै कम देखिन्थे । त्यतिबेला गिद्धको संख्या पनि न्यून देखिन्थ्यो । तर केही वर्षयता भने गिद्धको संख्या बढ्दै गएको एक अध्ययनले देखाएको छ ।
नेपाल पन्छी संरक्षण संघले गरेको गणनामा कञ्चनपुर जिल्लामा गिद्धको संख्या आशातित रूपमा बढिरहेको देखिएको हो । जिल्लामा २०२१ म गरिएको गणना अनुसार २ सय बढी गिद्ध रहेको पन्छी संरक्षण संघले जनाएको छ । गिद्धको प्रमुख बासस्थान शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई लिने गरिन्छ ।
‘शुक्लाफाँटाको तारापुर र भत्पुरी गिद्धको प्रमुख बासस्थान हो,’ पंक्षी संरक्षण संघका कार्यक्रम अधिकृत हिरूलाल डँगौंराले भने, ‘यहाँ एकै पटक एकरडेढ सय गिद्ध देख्न सकिन्छ ।’ उनका अनुसार उक्त क्षेत्रमा गिद्धका गुँडहरू पनि प्रशस्त मात्रामा देखिने गरेका छन् । अग्ला रूखहरूको उपलब्धता, खुला क्षेत्र र आहाराको उपलब्धताका कारण ती क्षेत्रमा गिद्धहरू बढी देखिने गरेका हुन् ।
पन्छी संरक्षण संघले यस वर्ष गरेको गणनाअनुसार कञ्चनपुरका विभिन्न स्थानमा गिद्धका ५६ गुँडहरू भेटिएका छन् । २०१२ मा यहाँ ८ वटा मात्रै गुँड थिए । कैलालीमा २०१२ मा ६८ वटा गिद्धको गुँड भेटिएका थिए भने २०२१ मा २८ वटा गुँड मात्रै भेटिएका छन् । ‘यसले कैलालीका गिद्धहरू कञ्चनपुर बसाइँ सर्न लागेको जस्तो पनि देखिन्छ,’ डँगौंराले भने, ‘कैलालीको तुलनामा बासस्थान र आहाराको उपलब्धताका कारण बसाइँ सरेको अनुमान गर्न सकिन्छ ।’मध्यपहाडी क्षेत्रमा मात्रै गुँड बनाउने सुन गिद्धको समेत गुड भेटिएको डँगौंराले बताए । सुन गिद्ध २ हजार मिटरको हाराहारीमा गुँड बनाउने पंक्षीका रुपमा चिनिन्छ । २०१९ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि एउटा गॅुड भेटिएको डँगौंराले बताए । तर उक्त गुँडबाट गिद्ध बच्चा जन्माउन सफल नभएको उनले बताए । हालका वर्षमा गिद्धको संख्या बढ्दै गए पनि आहाराको अभाव, अग्ला रूखहरू काट्दा बासस्थानको समस्या आदिका कारण गिद्ध संरक्षणमा चुनौतीहरू बढ्दै गएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले बताए । सिनो खाल्डोमा फाल्ने र कतिपयले विषादीसमेत हाल्ने गरेका कारण गिद्धहरू जोखिममा रहेको उनले बताए ।