कैलाली । कैलालीमा आज देखी निषेधाज्ञा थप खुकुलो पारीएको छ । कैलाली जिल्लामा कोरोनाको जोखिमलाई नियन्त्रण गरी जिवनयापनलाई सहज बनाउन, शैक्षिक गतिबिधी र अन्य सामाजिक तथा आर्थिक गतिबिधीलाई चलायमान बनाउन आज देखी निषेधाज्ञा थप खुकुलो पारीएको हो ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बिहीबार आदेश जारी गर्दै आज( शुक्रबार) देखी निषेधाज्ञालाई थप खुकुलो पारिएको आदेशमा उल्लेख गरेका छन्। कोभिड १९ संकट ब्यवस्थापन २०७८ दफा ४ र स्थानिय प्रसासन ऐन २०२८ ६( ३) बमोजिम आज देखी असोज १ गते सम्म कैलाली जिल्लाभर आदेश लागु गरिएको हो ।
यस्तै प्रमुख जिल्ला अधिकारी रिजालद्वारा जारी आदेश अनुसार अब पाँच क्षेत्रमा मात्रै निषेध गरिएको छ। ‘अनावश्यक रुपमा मानिसहरु जम्मा हुने, भिडभाड गर्ने, सभा जुलुस गर्ने, सामूहिक रुपमा पूजाअर्चना गर्ने, जात्रा महोत्सव गर्न, भोज भतेर गर्ने जस्ता कार्य गर्न पाइने छैन,’ आदेशमा उल्लेख गरिएको छ। मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा १ सय रुपैयाँ र मानिसको आवतजावत रोक लगाइएको वा नियन्त्रण गरिएको अवस्थामा सो को उलङ्घन गरे २ सय रुपैयाँ जरिबाना गरिने आदेशमा उल्लेख छ।
यस्तै आजदेखि भने जिल्लामा भौतिक उपस्थितीमै विद्यालय सञ्चलन गर्न पाइने भएको छ। बालबालिकाका शैक्षिक गतिविधि र अन्य सामाजिक गतिविधिलाई सहज बनाउन यस्तो निर्णय गरिएको आदेशमा उल्लेख छ। शैक्षिक संस्थामा सकभर भौतिक उपस्थितीमा पठनपाठन नगरी भर्चुअल माध्यमबाट पठनपाठन गराउन आदेशमा आग्रह गरिएको छ। यदि शैक्षिक संस्था भौतिक रुपमा सञ्चालन गर्नुपर्ने भएमा जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्ने र पालना भए नभएको प्रसासन आफै वा स्थानिय प्रसासनको अनुगमनको सहयोग लिई बन्द गराउने सक्ने आदेशमा उल्लेख छ।
यस्तै जिल्लामा राति ८ बजेपछि सम्पूर्ण पसल सञ्चालनमा लगाइएको रोक हटेको छ। ‘सर्वसाधारण व्यक्ति, समूह तथा संस्था लगायतका निकायबाट आर्थिक, सामाजिक तथा व्यवसायिक गतिविधिहरु सञ्चालन गर्दा नेपाल सरकारले तोकेको सवास्थ्य मापदण्ड तथा प्रोटोकलहरुको पूर्ण रुपमा पालना गर्ने शर्तमा मात्र सञ्चालन गर्न पाउने छ,’ प्रजिअ रिजालद्वारा जारी आदेशमा उल्लेख छ।