दार्चुला । भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले ‘तुइन खुस्काइदिएपछि’ महाकाली नदीमा खसेर नेपाली युवा बेपत्ता भएको घटनास्थल भारतीय भूमिमा भएको र अनुसन्धानका लागि सबुत प्रमाण फेला नपरेको भन्दै छानबिन समिति पन्छिएको छ ।
गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित समितिले एक महिना लगाएर गरेको छानबिनमा ‘घटनास्थल भारतीय भूमि गस्कु भएकाले उक्त घटनाको नेपालतर्फबाट औपचारिक अनुसन्धान गर्न कानुनी जटिलता रहेको’ निष्कर्ष निकालेको हो । सरकारी उच्च स्रोतका अनुसार यही निष्कर्षका साथ प्रतिवेदन लेखनलाई अन्तिम रूप दिएर गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाउने तयारीमा समिति छ ।
त्यसकै लागि सोमबार दिनभरि समितिका संयोजक र सदस्यहरूले गृह मन्त्रालयमा छलफल गरेका थिए तर प्रतिवेदन लेखनलाई अन्तिम रूप दिन नसकिएको भन्दै अझै ३ दिन समय बढाउन प्रस्ताव आएको छ । सोमबार सार्वजनिक बिदा भएका कारण मंगलबार चौथो पटक बढीमा तीन दिन समय तोकेर म्याद थप गर्न लागिएको र यस पटक थपिएको समयभित्रै प्रतिवेदन बुझाइसक्न निर्देशन दिइएको छ । लाखौं रुपैयाँ खर्च हुने गरी भएको सरकारी छानबिन समितिको यो निचोडसँगै ‘एसएसबीका जवानले तुइनको लट्ठा खुस्काइदिएपछि’ नदीमा खसेर बेपत्ता भएका ३३ वर्षीय जयसिंह धामीका परिवारले न्याय पाउने र अपराधमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने सम्भावना कमजोर बनेको हो ।
‘तुइन घटनाको अपराधस्थल भारतीय भूमि हो, यसमा शंकै रहेन, घटना अन्तर्राष्ट्रिय सीमापारि भएका कारण नेपालतर्फबाट औपचारिक अनुसन्धान गर्न कानुनी रूपमै कठिन भयो,’ स्रोतले भन्यो, ‘यस घटनामा भारतीय पक्षबाट अनुसन्धान हुनुपर्थ्यो, त्यसमा हाम्रो पक्षबाट अनुसन्धानमा सहयोग गर्ने कुरा आउँथ्यो तर उताबाट अनुसन्धान नभएपछि दोषीको पहिचान गर्ने विषय निकै जटिल बन्यो ।’ अब प्रतिवेदन सरकारले बुझेपछि ‘त्यसका आधारमा कूटनीतिक तवरबाट मात्र सत्यतथ्य पत्ता लागेमा एउटा कुरा हो, नत्र यो घटनाका आरोपित कारबाहीको दायरामा आउने सम्भावना न्यून रहेको’ स्रोतले बतायो ।
‘यसअघि क्रसबोर्डर क्राइम हुँदा दुवै पक्षले अपराधीको खोजबिन गरी कारबाहीको दायरामा ल्याउन गम्भीर रूपमा अनुसन्धान गरिन्थ्यो,’ एक सुरक्षा अधिकारीले भने, ‘क्रसबोर्डर क्राइममा यता अपराध गरेर भारत पुगेका नेपाली भए अनौपचारिक रूपमै हामीलाई हस्तान्तरण गर्ने र उता अपराध गरेर यता लुकेका भारतीयलाई पनि त्यहीअनुसार डिल गर्ने अभ्यास यस पटक भएन, जसले गर्दा तुइन घटनाको अनुसन्धान नै अन्योलमा पर्यो ।’ तर, गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले छानबिन समितिको प्रतिवेदन बुझेपछि मात्रै यस विषयमा सबै कुरा जानकारी गराइने बताए ।
दार्चुलाको व्यास गाउँपालिका–२, मालघाटका ३३ वर्षीय जयसिंह धामी साउन १५ गते तुइनबाट भारतको गस्कु हुँदै सदरमुकाम खलंगा जाने क्रममा महाकाली नदीमा खसेका थिए । मालघाटबाट गस्कु जाने क्रममा महाकाली तर्न केही दूरी बाँकी छँदा एसएसबीका जवानले लट्ठा खुस्काएपछि धामी भेलमा खसेको प्रत्यक्षदर्शीले बताएका थिए । तर, घटनापछि बेपत्ता धामीको अवस्था अझै अज्ञात छ भने अपराधमा संलग्नको पनि अत्तोपत्तो छैन । यसको खोजबिनका लागि भारतीय प्रशासनले पनि असहयोग गरेको छ । घटनापछि भारततर्फ तुइनको लट्ठा हराएको छ । नेपालतर्फको तुइनको आधा भाग प्रहरीले बरामद गरे पनि थप अनुसन्धान भएको छैन ।यो खबर आजको कान्तिपुर दैनिकमा छ ।