काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नेकपा एमाले फुटेको नभई आफूहरुले विद्रोह गरेको बताएका छन् ।
एमालेको नवौं महाधिवेशनपछि अहंकारी गुटले नेतृत्व कब्जा गरेको र अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई दक्षिणपन्थी अवसरवाद, अहंकारवाद, व्यक्तिवादमा लगेकाले विद्रोह गर्नुपरेको उनले बताए । भारतमा उपचार गरेर सोमबार स्वदेश फर्किएका नेता खनालले त्रिभुवन विमानस्थलमा भने, ‘कम्युनिस्ट आन्दोलन विर्सजनमा जाने खतरा भएकाले विद्रोह गर्नुपरेको हो ।
यो विद्रोह नवनिर्माणका निम्ति हो ।’ ओलीको चर्को आलोचना गरेका उनले एमालेको नवौं महाधिवेशनसम्म आफूहरुले विकास गरेको क्रन्तिकारी कार्यदिशा, नीति र सिद्धान्तलाई पुनर्स्थापित गर्न जरुरी भएको बताए । त्यसका लागि एमालेमै बसेर अन्तर संघर्ष गरेपनि जब्बर भएर बसेको दक्षिणपन्थी अवसरवाद, गुटवाद र व्यक्तिवादले नदिएको उनले बताए । खनालले भने, ‘कम्युनिस्ट पार्टीको सरकार ढल्यो भनेर गोहीको आँसु बगाउन कुनै जरुरी छैन । कम्युनिस्ट पार्टीको नाममा बद्नाम सरकार थियो, त्यो ढल्यो ।’
गोहीको आँसु झार्नुपर्दैन
पूर्वप्रधानमन्त्री खनालले उपचारका लागि भारत जाँदा भारी मन लिएर गएको आफू जोशिलो भएर फर्किएको बताए । आफू उपचारका क्रममा रहँदा सर्वोच्च अदालतले (संसद पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने) ऐतिहासिक फैसला गरेको उनले बताए । यसले लोकतन्त्र, संसद र संविधानको रक्षा भएको भन्दै उनले भने, ‘केपी ओलीको सरकार आफैंमा निरंकुश थियो । त्यो सरकार ढल्नु भनेको निरंकुशताको पराजय हो । दक्षिणपन्थी अवसरवाद, अहंकार, व्यक्तिवादको पराजय हो ।’ खनालले अघि भने, ‘कम्युनिस्ट पार्टीको सरकार ढल्यो भनेर गोहीको आँसु बगाउन कुनै जरुरी छैन । कम्युनिस्ट पार्टीको नाममा बद्नाम सरकार थियो, त्यो ढल्यो ।’ उनले अब बाम लोकतान्त्रिक शक्तिको गठबन्धनबाट अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।
यो नाफाको जीवन हो
स्वास्थ्यमा समस्या भएपछि २ असारमा भारत गएका खनालको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । खनाललाई उनकी पत्नीकी दिदीकी छोरी मेरिना चित्रकारले मिर्गौला दिएकी थिइन् । मिर्गौला प्रत्यारोपणपछि आफूले पहिले भन्दा पनि ताजा महसुस गरेको खनालले बताए । एकीकृत समाजवादीका वरिष्ठ नेता खनालले भने, ‘पछिल्लो सर्जरीपछि विल्कुलै नयाँ जीवन प्राप्त गरेको छु, यो मेरो जीवन नाफाको जीवन हो, बोनसको जीवन हो । सास रहुन्जेल, देश, राष्ट्रियता, कम्युनिस्ट आन्दोलनको विकास, विस्तार र सुदृढिकरणमा लगाउँछु ।’ उनले कार्यकारी पदमा भने कुनै दाबी नगर्ने बताएका छन् । एमालेमा ७० वर्षको उमेर हद ल्याउने मुख्य नेता आफू भएको स्मरण गर्दै खनालले भने, ‘७१ वर्ष पार गरिसकेँ । अब कुनै पनि कार्यकारी पदमा मेरो दाबी रहँदैन ।’