दार्चुला। लगातारको वर्षाका कारण निजाङ्ग खोलामा गयराती आएको बाढीले दार्चुला–तिंकर सडक खण्डको पक्की पुल, अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयको रेञ्जर पोष्ट र खोला किनारका पसलहरु बगाएको छ ।
महाकाली नगरपालिका–१ र दुहुँ गाउँपालिका–३ को सीमाना भएर बग्ने खोलामा आएको बाढीले श्रीबगड स्थित खोला किनारका थप ३ पसल र १ घर बगाएको स्थानिय लोकेन्द्र बहादुर बमले जानकारी दिए । खोलाले स्थानिय दिपक बहादुर बमको घर तथा सुन्दर बहादुर बम, देवबहादुर बम र जितबहादुर बमको पसल बगाएको उनले बताए।
खोलामा आएको बाढीले घर बगाएपछि उक्त घरका नागरिकलाई राती नै सुरक्षित स्थानमा सारिएको छ । साथै श्रीबगडका अन्य घरहरु समेत बाढी पहिरोको उच्च जोखिममा रहेको स्थानियले जानकारी दिएका छन् । यसैबिच लगातार भइरहेको वर्षाले महाकाली नदिमा पानीको बहाव बढेर भारत तर्फको तपोवन क्षेत्रमा रहेको एनएचपिसी डुवानमा परेको छ ।
निजाङ्ग खोलामा आएको बाढीले केहि बेर महाकाली थुनिएपछि एनएचपिसी डुवानमा परेको भारतीय सुरक्षा स्रोतले जनाएको छ । एनएचपिसी डुवानमा परेपछि केहि कर्मचारी भित्रै फसेको तथा उनीहरूको सकुशल उद्धार गरेको छ । बाढीले पुर्याएको क्षति र स्थानीयको अवस्था बारे बुझ्न प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।


