धनगढी। सुदूरपश्चिमीलेहरुको आफ्नै मौलिक पर्वका रुपमा रहेको गौरा पर्वको आज दोस्रो दिन । आज प्रदेशभरि नानी गौरा’ मनाइदैछ ।
गौरा पर्वको दोस्रो दिन सोमवार व्रतालु महिलाले नजिकको धारा, कुवा तथा पानी पधेरोमा ‘बिरुडा’ लाई धोएर मनाउने गर्दछन् । दोस्रो दिन नदी, तलाउ तथा धारामा गई फाग र माङल गाउँदै बिरूडा पखाल्ने र गौराको पूजाआजा गर्ने गरिन्छ । यस्लाई ‘नानी गौरा’ भनिन्छ ।
गौरा पर्वको पहिलो दिन आइतबार महिलाले निराहार रही आ–आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ५ प्रकारका अन्न भिजाएका थिए। पाँच प्रकारका अन्नमा गहुँ, केराउ, गहत, मास र गुरुस पर्दछन् । यी पाँच अन्नलाई ‘बिरुडा’ भनिन्छ। अघिल्लो दिन भिजाइएका बिरुडालाई नजिकका नदी, तलाउ, धारामा लगेर धुने चलन छ । व्रतालु महिलाहरूले बिहानै नुवाइधुवाइ गरेर नजिकको धारा, तलाउ तथा कुवामा गई गौरादेवीको पूजाआजा गर्ने गरिन्छ।
धान, साउँ, तिल, अपामार्ग लगायतका बोटबाट गौराको प्रतिमूर्ति बनाई शृङ्गार पटार गरेर गौराको पूजा गर्ने चलन रहिआएको छ । नजिकको धारा, कुवा तथा तलाउमा प्रतिस्थापन गरिएको गौराको मूर्तिलाई विभिन्न फागसहित बिरुडाले पूजा गर्ने प्रचलन छ । दुर्वाष्टमी अर्थात अठ्यावाली यो पर्वको मुख्य दिन हो। भोलि सप्तमीका दिनमा गौरालाई भित्र्याउने चलन छ। भोलि नै महिलाहरुले धारण गर्ने विशेष प्रकारको धागो दुबधागो गौरादेवीमा समर्पण गरेर गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन धारण गर्ने चलन रहिआएको छ ।

