दार्चुला। दार्चुलामा महाकाली लोकमार्ग अन्तरगत गोकुलेश्वर खलंगा सडक खण्ड अवरुद्ध भएको छ । दार्चुला सदरमुकाम खलंगालाई तराई तथा संघीय राजधानी काठमाण्डौसंग जोड्ने एक मात्रै सडक अवरुद्ध भएको हो ।
महाकाली नगरपालिका -९ बेतस्थित चुनेभिरमा सडक भासिएपछि बस, ट्रक लगायतका ठुला सवारी साधानहरु सदरमुकाम खलंगाबाटै रोकिएका छन् । पहिरोले सडक साघुरो बनाएको र सडक चौडा बनाउन भिर काट्न थालिएपछि सडक पुर्ण रुपमा अवरुद्ध भएको छ ।
कडा चट्टानी भुभाग रहेको उक्त स्थानमा भिर काट्न निकै ढिलाइ भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । स्काइभेटर मेसिनबाट ब्रेकर प्रयोग गरेर भिर फुटाउने काम भइरहेको छ । पहिले देखि नै साघुरो ठाउँ रहेको बेतस्थित चुने भिरमा सडक भासिएपछि दार्चुलाबाट छुट्ने र जिल्ला भित्रिने सवारीसाधनहरु बन्द भएका छन् ।
यात्रुहरु बेतसम्म दार्चुलाबाट गाडीमा गइरहेका छन् । सडक निर्माणको काम भइरहेको चुने भिरबाट पैदल हिडेर पारीबाट सवारीसाधन बदल्दै (पल्टी गरेर) यात्रा गरिरहेका छन् । सडकको तल र माथि भिर भएकोले काम रोकाएर मानिसहरु आवतजावत गरिरहेका छन् । ब्रेकरले फुटालेर सडकमा फालेका ढुगांहरुको कारण आवतजावतमा झनै समस्या भएको छ । चुने भिरमा सडक सञ्चालन गर्न अझै केहि दिन लाग्ने निर्माण व्यवसायीले प्रतिक्रिया दिएका छन् ।


