धनगढी। २०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनाको आज ६ वर्ष पूरा भएको छ। भदौ ७ गते भएको थारु आन्दोलनको दौरानमा प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी लक्ष्मण न्यौपाने सहित ७ प्रहरी र एक जना बालकको ज्यान गएको थियो।
घटनामा के भएको थियो
उक्त घटनामा प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका ५ जना तथा सशस्त्र प्रहरीका २ र १ बालकसहित ८ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा नेपाल प्रहरीका प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहोरा, प्रहरी जवान लक्ष्मण खड्का र लोकेन्द्र चन्द रहेका थिए । यस्तै सशस्त्र प्रहरी हवल्दार रामबिहारी थारु र सहायक हवल्दार ललित साउदको समेत सो घटनामा मृत्यु भएको थियो ।
यसैगरी, हिंसात्मक झडपका क्रममा घरमा बसिरहेका दुई वर्षीय बालक टेकबहादुर साउदको गोलीको छर्रा लागि मृत्यु भएको थियो । उनी सहायक हबल्दार नेत्र साउदको छोरा हुन् । आन्दोलनरत थरुहट/थारुवान संयुक्त संघर्ष समितिले सरकारी कार्यालयहरूमा थरुहट स्वायत्त प्रदेश लेख्ने कार्यक्रमअन्तरगत उनीहरू टिकापुरतर्फ बढ्दै गर्दा रोक्न गएको प्रहरीमाथि आक्रमण भएको थियो । घटना भएको दोस्रो दिन बिहान कफ्र्यु जारी भएको समयमा ८० भन्दा बढी थारु समुदायका घर, पसल, एफएम लगायतमा आजजनी भएको थियो । उक्त घटनाको मुद्दामा सांसद रेशम चौधरीसहित नेता कार्यकर्ता जेल सजाय भोगिरहेका छन् । 
यस्तै भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा पीडित परिवार न्याय मर्ने चिन्तामा रहेका छन्। घटनामा आफन्त गुमाएका पीडित परिवारले हत्यारालाई कारबाही भएको हेर्ने उनीहरुको धोको छ । सोही अनुसार अदालतले पनि फैसला सुनाएको छ। तर हत्यामा संग्लन दोषी छुट्ने हुन् कि ? भन्ने चिन्तामा छन्, उनीहरु। टीकापुर घटनाको मुद्दा फिर्ता हुने विषयमा समयसमयमा हुने चर्चाले उनलाई चिन्तित बनाउँछ। यसअघिको ओली सरकारले गठन गरेको सरकारी टोली र थारुहट–थारुवान संयुक्त संघर्ष समितिबीच भएको वार्तामा रेशम चौधरीलाई छाड्न भनिएको थियो।
टीकापुर विद्रोह दिवस मनाउदै मार्चा
यसै अन्तरगत थरूहट थारुवान प्रदेशको माग गर्दै भएको टीकापुर घटनाको थारू कल्याणकारिणी सभा कैलाली र थरूहट थारूवान मोर्चा कैलालीले टीकापुर विद्रोह दिवस मनाउने जनाएको छ। मोर्चाले कैलालीको बलिया चोकदेखि भल्का चौकसम्म ¥यालीसहित कार्यक्रमको आयोजना गरि टीकापुर बिद्रोह दिवस मनाउने जनाएको हो। यस्तै ८ गते साझ ८ बजे देखि आधा घण्टा जिल्लाव्यापी बत्ती निभाउने (ब्ल्याक आउट) मोर्चाका संयोजक लक्ष्मण थारूले जानकारी दिए। यस्तै मोर्चाले काठमाडौंको माइतीघर मण्डलमा विभिन्न कार्यक्रमको आयोजना गरि तेस्रो चरणको आन्दोलन घोषणा गरिसकेको छ।
टीकापुर घटनामा लगाइएका मुद्दा फिर्ता गर्न माग गर्दै तेस्रो चरणको अभियानअन्तर्गत विरोधका कार्यक्रम सुरु गरिएको मोर्चाले जनाएको छ। २०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा भएको नरसंहारको आज ६ वर्ष पूरा भएको छ। भदौ ७ गते भएको थारु आन्दोलनको दौरानमा प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी लक्ष्मण न्यौपाने सहित ७ प्रहरी र एक जना बालकको ज्यान गएको थियो। थरुहट/थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा भएको टीकापुर घटना मुद्दाको कैलाली जिल्ला अदालतले झण्डै साढे तीन बर्षपछि फैसला गरेको थियो। कैलाली निर्वाचन क्षेत्र नम्वर १ बाट विजयी रेशम चौधरी सहित ११ जनालाई जन्मकैदको फैसला भएको थियो।

