धनगढी । कैलालीको गोदावरी ४ खैराना स्थीत खैराना सामुदायिक वनबाट अवैध सालका काठ बरामद गरिएका छन् । शनिबार राती करिब ९ बजेको समयमा काठ समयमा तस्करहरुले सामुदायिक वनबाट सालका काठ ल्याउँदै गरेको अवस्थामा बरामद गरिएका हुन् । रातीको समयमा २०, २२ जनाको समुहले २० कडी सालका काठ वनबाट ल्याउँदै गरेको अवस्थामा बरामद गरिएको हो ।
विशेष सूचनाका आधारमा वनका पदाधिकारी संगै पुगेको डिभिजन वन कार्यालय धनगढीको टोलीले रातीको करिब ९ बजेको समयमा उक्त काठ वन क्षेत्रबाट बरामद गरीएको डिभिजन वन कार्यालय कैलालीका प्रमुख राम चन्द्र कंडेलले जानकारी दिए । काठ बरामद गर्ना साथ तस्करहरु भागेका छन् । बरामद गरिएको काठ सामुदायिक वनका अध्यक्षको जिम्मा लगाएर राखिएको र सोमबार मात्रै ति काठ धनगढी वन कार्यालयमा ल्याइने डिभिजन वन कार्यालय प्रमुख कंडेलले जानकारी दिए । उक्त काठ सँगै काठ बोक्न प्रयोग गरिने डोरी, कपडा, तन्ना, सब्बल लगायतका सामग्री समेत बरामद गरिएको छ ।
यस्तै वनको टोली पुग्ने वितिकै तस्करहरु काठ छोडेर भागेकाले उनीहरुमध्ये कसैलाई पनि समात्न नसकिएको टोलीमा सहभागि सामुदायिक वनका एक पदाधिकारीले जनाएका छन । उनले रातको समय भएकाले चिन्न पनि नसकिएको भने । उक्त सामुदायिक वनका अध्यक्ष गोरख खड्काले तस्करहरुको समुहले दैनिक जसो वनमा काठ काट्ने गरेको भएपनि पक्राउ पर्न नसकेको जानकारी दिए। उनले भने ‘त्यो सबै हाम्रै वन भित्रको काठ हो’ उनले भने ‘ति बदमासहरुले दैनिक २/३ रुख ढालिरहेका छन । ढलेका रुख पनी फेला नपरेको उनले बताए । स्थानियले वनमा काठ तस्कर गर्ने भरिया मात्रै भएको र तस्कर भने अरु नै भएको वताउँदै आएका छन ।
यस अघि पनि सो क्षेत्रमा पटक–पटक चोरी हुँदै आएको छ भने काठ तस्करहरु पक्राउ पर्न नसकिएको बताएका छन् । स्थानियहरुले भने , चुरे नजिक क्षेत्रका जंगलमा डेरा बनाई अस्थाई बसोबास गरि काठ चिरान गरि तराइका लालपुर, खैराना र बास्कोटाको बाटो प्रयोग गरि दैनीक जसो काठ तस्कर हुने गरेको छ । ईलाका वनको चरम लापरबाही र सामुदायिक वनको अक्षमताका कारण वन क्षेत्र सखाप भएको स्थानियहरुको आरोप छ । यसरी बरामद गरिएका काठ पनि वन कार्यालय र सामुदायिक वनका अध्यक्षले मिलोमतोमा गायव पार्ने गरिएको श्रोतको दावी छ । यस अघि पनि तेघरी क्षेत्र गोदावरी क्षेत्र, बन्देगडा मुरिभावर, बेलपानी लगायतका क्षेत्रमा जंगल भित्रै अस्थाई टहरा निर्माण गरि काठ चिरान संचालन गरिरहेका खवर बाहिर आएपनि सम्बन्धित निकाय भने मौन बसेको स्थानियले गुनासो गरेका छन ।