काठमाडौं। (साउन १५ गतेः भारतीय सुरक्षाकर्मीले तुइन काटेपछि दार्चुला व्यासका ३३ वर्षका जयसिंह धामीको महाकाली नदीमा खसेर वेपत्ता) (साउन १७ गतेः सरकारले गृहमन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन, १० दिनको समय) (साउन १९ गतेः प्रतिनिधिसभाको बैठकमा सांसदहरुको गृहमन्त्री बालकृष्ण खाणँसँग सांसदहरुको सवाल जवाफ, संसदीय छानविन समिति बनाउन माग) (साउन १९ गतेः छानविन समिति अनुसन्धानका लागि छानविन टोली खलंगामा) (साउन २१ गतेः भारततर्फको घटनास्थलको अवलोकन) (साउन २२ गतेः नेपाल तर्फको घटनास्थल, मालघाटको अवलोकन)(साउन २५ गतेः छानविन समितिको म्याद एक साताका लागि थप) (भदौ १ गतेः पुन एक साताका लागि म्याद थप, छानविन समिति प्रतिवेदन लेख्दै)
सरकारले महाकाली नदी तर्ने क्रममा वेपत्ता भएका जयसिंह धामीको मृत्यु सम्बन्धमा छानविन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न ढिलाई गरेको छ ।
छानविन टोली काठमाडौं फर्किएपनि प्रतिवेदन लेख्नका लागि भन्दै तेस्रोपटक समय थप गरिएको छ । गत साउन १५ गते महाकाली नदी तर्ने क्रममा दार्चुला व्यास २ का जयसिंह धामीको भारतीय सुरक्षाकर्मी एसएसबीका जवानहरूले तुइन काटीदिएपछि नदीमा खसेर बेपत्ता भएका थिए । यो घटनाको छिटो सत्य तथ्य सार्वजनिक गर्न सांसदहरुले माग गरिरहेका छन् ।
शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले यो विषयलाई उठाए । उनीहरुले छिटो प्रतिवेदन सार्वजनिक गर्न माग गर्दैै दोषीलाई कारवाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न आग्रह गरे । काँग्रेसका तर्फबाट दार्चुलाका सांसद दिलेन्द्रप्रसाद बडुले छानविन प्रक्रिया छिटो बाहिर ल्याउन, पीडितलाई क्षतिपूर्तिको व्यवस्था र पीडकलाई कारवाही गर्न माग गरे ।
उनले सो घटनापछि दार्चुलाबाट भारततर्फ जाने सबै तुइन भारतीय पक्षले बन्द गरेको र दार्चुलामा जाने सडक मार्गपनि अवरुद्ध भएकोले खाद्य संकट आएको बताए । एमालेका सांसद महेश बस्नेतले घटना भएको २२ दिन पुग्दासमेत किन सत्यतथ्य बाहिर नल्याएको भन्दै प्रश्न गरेका थिए । उनले यसबारे सरकारले किन ढिलाई गरेको हो, समितिले छुट्टै बैठक राखेर सरकारलाई निर्देशन दिन माग गरेका थिए ।
किन भइरहेको छ ढिलाई
गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले छानविनका लागि समितिलाई भदौ ९ गतेसम्मका लागि म्याद थप गरेको बताए । उनले काठमाडौंबाट टाढाको घटना भएकोले अध्ययनका लागि समय लाग्ने भन्दै म्याद थपेको र समितिले छानविन सकेपछि प्रतिवेदन सार्वजनिक गर्ने उल्लेख गरे । सरकारले सुरुमा एक सातामा अनुसन्धान गर्ने र बाटोको लागि ३ दिन समय सहित १० दिनको समय दिएको थियो ।
तर सो समयभन्दा बाहेक थप २ पटक गरेर १४ दिनको म्याद थप गरेको छ । यसरी म्याद थप्दै जाने र प्रतिवेदन नआउँदा छानविन प्रभावित हुने त हैन भन्दै सांसदहरुले चिन्ता व्यक्त गरेका छन्। प्रतिनिधिसभा अन्तरगतको राज्यव्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले रातोपाटीसँग कुरा गर्दै यसबारे पहिला पनि गृहमन्त्रीसँग कुरा गरेको बताइन् । उनले समितिले फेरि दार्चुला घटनाको बारेमा सरकारले छानविनको काम के गर्दैछ यसबारे जानकारी माग्न छिट्टै बैठक बोलाउने उल्लेख गरिन् । घटनास्थलमा रहेका प्रत्यक्षदर्शीहरुले भारतीय सुरक्षाकर्मीले तुइन काटिदिएका कारण जयसिंह महाकालीमा वेपत्ता भएको बयान दिइसकेका छन् ।