धनगढी। धनगढीमा रक्षाबन्धनको तयारीका लागी आवस्यक सामान किन्नेहरुको चहलपहल बढेको छ । भोलि धुमधामका साथ मनाइने रक्षाबन्धन तथा जनैपूर्णिमाको तयारीका लागी राखि अर्थात रक्षाबन्धन किन्ने तयारी थालिएको हो । धनगढी बजारका चोक चोकमा रक्षाबन्धनका लागी आवश्यक पर्ने रङ्गीबिरङ्गी रक्षा धागो, टिका, प्रसाद लगायतका फुटपाथ पसल समेत थापीएका छन् ।
बजारका मुख्य क्षेत्रहरु पार्क मोड, बसपार्क, जिल्ला प्रशासन कार्यालय अगाडी, चौराहा लगायतका ठाउँमा राखी बेच्न व्यापारीहरुले एक दुई दिन अघि नै फुटपाथ पसल समेत थापेका हुन्। दिदीबहिनी दाजुभाइका लागि राखी किन्न व्यस्त छन् । धनगढी २ का जय धामीले रक्षाबन्धनका लागी धागो लगायत अन्य आवस्यक सामाग्रीको तयारीमा जुटेको जानकारी दिए। दिदीबहिनीले दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्ने गर्छन् ।
रक्षाबन्धन शब्दमा दुई वटा शब्द जोडिएको छ ‘रक्षा र बन्धन’ रक्षाको अर्थ भाइले बहिनीको रक्षा गर्ने बाचा दिन्छ भने बन्धन जसले भाइ बहिनीको सम्बन्धमा अझ बढी माया, स्नेह, सामिप्य र प्रेम ल्याउँछ भन्ने पौराणिक मान्यता छ।श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व सोही दिन मनाइन्छ । बिहानैदेखि हिन्दू धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) र गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै लगाउने चलन छ। रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ।


