धनगढी। कैलालीमा प्रहरीद्धारा ‘तपाईंको मास्क खोइ’ अभियान सुरु गरिएको छ। कोरोनाको नयाँ भेरियन्टको संक्रमण दर बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको संयुक्त आयोजना तथा धनगढी उपमहानगरपालिकाको सहकार्यमा “तपाईको मास्क खै”अभियान सुरु भएको हो।
बिहीबार धनगढीको ट्राफिक चौराहादेखि उक्त अभियान सुरु गरिएको ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक बिरेन्द्रबहादुर बोहराले जानकारी दिए। अभियान ट्राफिक चौराहा देखि पार्क मोड सम्म पैदल र्यालीको आयोजना गरिएको उक्त अभियानमा बजार क्षेत्रमा मास्क नलगाएर आवतजावत गरिरहेका सर्वसाधारणलाई ५ सय थान मास्क समेत वितरण गरिएको छ। धनगढीसहित जिल्लाभर निषेधाज्ञा खुकुलो भएसँगै नागरिकको आवतजावत बढेको र नागरिकले जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्नेतर्फ ध्यान नदिएकाले उनीहरूलाई सचेत बनाउन मास्क वितरणसँगै ‘तपाईको मास्क खोई’ ? अभियान सुरु गरिएको प्रहरी निरीक्षक बोहराले जानकारी दिए।
कैलाली जिल्ला भरि कार्यरत सम्पूर्ण ट्राफिक प्रहरी कर्मचारीहरुले दैनिक कोरोना संक्रमणबाट बच्नका लागि ‘तपाई को मास्क खोई’ कार्यक्रमको ब्यानर नियमित डिउटीमा लगाउने जिल्ला ट्राफिक कार्यालय कैलालीले जनाएको छ। कोरोना महामारीको तेस्रो लहरबाट बच्न सबैले मास्क अनिवार्य रुपमा प्रयोग गर्नु पर्ने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख विश्व अधिकारीले जानकारी दिए। आफ्नो सुरक्षा र अरुको सुरक्षाका लागि भएपनि सर्वसाधारणहरुलाई अनिवार्य रुपमा मास्क लगाउन उनले आग्रह गरेका छन।
मास्क नलगाई हिँडडुल गर्ने सर्वसाधारणहरुलाई आजबाट कारवाही गरिने उनको भनाई छ । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्का र धनगढी उपमहानगरका नगरप्रमुख नृपबहादुर वड, जिल्ला प्रशासन कार्यालयका प्रमुख, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, सशस्त्र प्रहरी बल, प्रहरी तथा ट्राफिक लगायतको सहभागिता रहेको थियो।