धनगढी। कैलालीका प्रिन्सिपल कृष्ण भुषालको हत्यामा संलग्नलाई सार्वजनिक गर्न माग गरिएको छ। कैलालीको गौरीगंगा नगरपालिकाका विहानी क्षितिज बोडिङ स्कुलका सञ्चालक भुषालको हत्या भएको भन्दै संलग्नलाई सार्वजनिक गर्न माग गरिएको हो।
मानव अधिकारी रक्षक संजाल गौरीगंगाले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउदै भुषालको हत्या भएको भन्दै संलग्नलाई सार्वजनिक गर्न माग गरेको हो। कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालमार्फत ध्यानाकर्षण पत्र बुझाउदै मानव अधिकारी रक्षक संजालले गौरीगंगाको विहानी क्षितिज बोडिङ स्कुलका सञ्चालक भुषालको हत्या भएको एक वर्ष भएपनि दोषी कानूनी दायरामा नआएको जनाएको छ।
ध्यानाकर्षण पत्रमा भनिएको छ,- २०७७ साल बैशाख ११ गते गौरीगंगा नगरपालीका ९ मा रहेको विहानी क्षितिज बोडिङ स्कुलका सञ्चालक कृष्ण प्रसाद भुषालको हत्या भयो । हत्या भएको १ बर्ष बित्दासक्दा पनी हत्यारा सार्वजनिक भएको छैन । पर्याप्त सबुत र आधारहरु हुँदाहुँदै पनी भएका प्रमाणहरु लत्याईनु न्यायको निकृष्ट उदाहरण हो ।
अनुसन्धानमा कुनै कसर बाँकी नराखी हत्यारालाई चाँडै नै सार्वजनिक गरी कडा कार्बाही गर्न ध्यानाकर्षण गराउँदछौँ, ध्यानाकर्षण पत्रमा भनिएको छ। मानव अधिकारी रक्षक संजालका अध्यक्ष टेकराज ओझाले आवश्यक प्रमाणहरु हुँदा हुदैपनि कारबाही नभएको बताए। संजालले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझाएको पत्रमा कोरोना खोपको समेत सुनिश्चितता गर्नुपर्ने माग पनि उल्लेख छ।

