दार्चुला। भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काटिदिँदा दार्चुलाको ब्यास गाउँपालिका–२, मालगाउँका ३० वर्षीय जयसिंह धामी साउन १५ गते महाकाली नदीमा खसेर बेपत्ता भए।
महाकाली नदीमा खसेर बेपत्ता भएका धामीको घटनाबारे गृहसचिवको नेतृत्वमा छानविन गर्न गठित टोली बनायो । तर गठित टोलीले १६ दिनसम्म पनि प्रतिवेदन बुझाउन सकेको छैन । गृहमन्त्री बालकृष्ण खाँणले सह–सचिव जनार्दन गौतमको नेतृत्वमा छानविन टोली गठन गर्दै १० दिनको समय दिएका थिए ।
घटनास्थलमा पुगेर अध्ययन गरेको टोलीले समय अभाव भएको भन्दै समितिले थप ७ दिन म्याद दिन आग्रह गर्यो । ‘त्यहीअनुसार थप ७ दिनको म्याद समितिलाई दिइएको छ’ गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने । थपिएको समय मंगलबारबाट सकिँदै छ ।
समितिका संयोजक गौतम भन्छन्, ‘प्रतिवेदनको विषयमा छलफल भइरहेको छ, भोलि बुझाउन नसकिए म्याद थपका लागि आग्रह गर्छौं ।’ अनुसन्धान, सूचना र तथ्य संकलन जारी रहेको अवस्थामा ठोस विश्लेषणका लागि समय लाग्न सक्ने गौतमले बताए ।
संयोजक काठमाडौंमा, अरु सदस्य सुदूपश्चिममा
छानविन टोलीको नेतृत्व गरेका गृह मन्त्रालयका सह–सचिव गौतम अहिले काठमाडौं आएका छन्। प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशकुमार श्रेष्ठ र दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट भने सुदूरपश्चिममै छन् ।
टोलीले अझै सूचना र तथ्य संकलन गरिरहेको र त्यो काम सकिएपछि प्रतिवेदन तयार पारिने संयोजक गौतम बताउँछन् ।‘खासमा जयसिंह धामीको खोजीलाई प्राथमिकता दिएकाले पनि प्रतिवेदन तयार गर्न ढिला भयो’ संयोजक गौतम भन्छन्, ‘झण्डै १५/२० किलोमिटरको दूरिमा खोजी गर्दा कुनै पत्तो लागेन।’केही तथ्यहरुलाई स्थानीय प्रहरीमार्फत पनि प्रमाणीकरण गर्ने प्रयास भइरहेको गौतम बताउँछन् । ‘यो पेचिलो विषय हो, हतारमा हल्का ढंगले प्रतिवेदन तयार गरेर हुँदैन’ गौतमले भने, ‘गम्भीरतापूर्वक छानविन भइरहेकाले समय लागेको हो ।’
अनुसन्धानमा भारतीय असहयोग
प्रकरणको अनुसन्धानमा भारतीय पक्षले असहयोग गरेको छ। एसएसबीविरुद्ध बयान दिने कतिपय स्थानीयलाई धम्कीसमेत दिइएको छ।धामीको खोजीमा ड्रोन प्रयोग गर्न पनि भारतले अनुमति दिएन ।
सहायक प्रमुख जिल्ला अधिकारी भट्टका अनुसार धामीको खोजीका लागि ड्रोन उडाउन खोजिएको थियो। तर भारतीय पक्षले हालसम्म जवाफ नदिएपछि धामीको नेपाली क्षेत्रमा मात्रै खोजी भएको छ । ‘कति कुर्ने, धेरै पर्खिन सक्ने अवस्था थिएन, त्यसैले त्यतिकै खोजी गर्यौं’ उनले भनिन् ।


