दार्चुला। अतिक्रमित नेपाली गाउँ कुटीमा हेलिप्याड बनाउने भारतले तयारी गरेको छ । त्रीदेशीय सीमा क्षेत्र नजिकको अतिक्रमित नेपाली गाउँ कुटीमा भारतले अहिले हेलिप्याड बनाउन लागेको स्रोतले जनाएको छ ।
नेपाली अतिक्रमित तीन गाउँमध्ये कुटी गाउँमा भारतले अहिले हेलिप्याड बनाउन लागेको हो । त्रीदेशीय सीमा क्षेत्रमा र अतिक्रमित नेपाली भूमिमा भारतले सुरक्षा उपस्थिति बाक्लो बनाउने तथा त्यहाका नागरिकहरुको सेवा सुविधा सुलभ बनाउदै आएको छ । विगतदेखि नै अन्य क्षेत्रको तुलनामा नाभि, कुटी तथा गुञ्जी क्षेत्रका नागरिकहरुको आधारभूत सेवा तथा अन्य सेवाहरु सहज बनाउदै आएको छ।
गुञ्जी क्षेत्रमा भने यसअघि नै हेलिप्याड बनाएको छ । उक्त हेलिप्याडमा सानो हेलिकेप्टरदेखि ठूलो खालको चिनुक नामक डबल इन्जीन हेलिकप्टरहरु समेत अवतरण गरिदै आएको छ । थप अहिले कुटीमा पनि हेलिप्याड बनाउने तयारी गरिरहेको स्रोतले जनाएको छ । हेलिप्याड निर्माणका लागि नेपाली कामदारहरुको खोजी भइरहेको छ । नेपाली कामदारहरु मार्फत् कुटीमा हेलिप्याड बनाउने योजना छ । यसअघि पनि सामान्य अवस्थामा हेलिकप्टर अवतरण गरिदै आएको कुटीमा पक्की हेलिप्याड बनाउन लागिएको हो ।
भारतले काली भन्दै आएको लिपुखोला भन्दा वारि पनि अतिक्रमण
कुटी गाउँ भन्दा उत्तरपूर्वी क्षेत्रमा रहेको अतिक्रमित नेपाली भूमि कालापानी हुदै बग्ने लिपुखोला भन्दा पनि वारितिर भारतले सडक सञ्चालन गरेको छ भने संरचनाहरु समेत निर्माण गरेको छ । भारतीय पक्षले महाकाली नदी नाम दिएका लिपुखोलालाई भारतले सीमा नदी मान्दै आएपनि उक्त खोला भन्दा पनि नेपालतिर सडक निर्माण गरि सञ्चालन गरेको छ । चीन सीमा जोड्ने धारचुला–लिपुलेक सडक नेपाली भूमिमै निर्वाध रुपमा बनाइसकेको छ भने लिपुखोलाको वारि अर्थात् नेपालतिर विभिन्न संरचनाहरु समेत निर्माण गरेको छ । गुञ्जी क्षेत्रबाटै नेपालीभूमिमाथि अतिक्रमण सुरु गरेको भारतले विभिन्न स्थानमा सामान्य व्यक्तिहरुले समेत थाहा पाउने गरी नेपालमाथि अतिक्रमण गरेको स्थानीयहरुको भनाई छ ।
धारचुला–लिपुलेक सडक उद्घाटन गर्नुभन्दा पूर्व नै भारतले महाकाली भन्दै आएको लिपुखोला भन्दा पनि वारि नेपालतिर भारतीय संरचना बनाएको छ । गुगल नक्सामा पनि भारतले नेपालीभूति माथि ठाडो अतिक्रमण गरेको स्पष्ट देखिएको छ । गुगल नक्सामा पनि भारतले लिपुखोलालाई महाकाली नदी भनेजस्तै गुगले पनि विवादित क्षेत्रको संकेत गर्दै लिपुखोलालाई सारदा अर्थात् काली नदी भनि संकेत गरेको छ । भारतले सीमा नदी भन्दै आएका लिपुखोला भन्दा वारी नेपाली भूमिमा सडक सञ्चालन गरेको छ भने भारतीय सुरक्षा फौजका थुप्रै संरचना बनाएको स्रोतको भनाई छ । उक्त क्षेत्रमा हेलिकेप्टरबाट डोजर तथा गाडी बोकेर कालापानी क्षेत्रमा सडक निर्माण गरेको केही वर्ष पहिले अतिक्रमित नेपाली भूमिमा पुगेका ब्याँसका स्थानीय पत्रकार बिरादत्त भट्टको भनाई छ ।
‘धारचुला–लिपुलेक सडक सञ्चालन गर्नुभनदा नै पूर्व त्यो क्षेत्रमा सडक बनाई गाडीहरु चल्दै आएका थिए’ उहाँले भन्नु भयो । भारतले महाकाली भन्दै आएको लिपुखोलामाथि मोटरेबल पुल बनाई खोला वारी सडक निर्माण गरिसकेको छ । तर नेपाल सरकारले त्यो विषयमा ठोस रुपमा एजेण्डा बनाउन सकेको छैन् । गुगल नक्सामा समेत भारतले काली भन्दै आएको लिपुखोलाको नेपालतिर भारतीय संरचना बनाएको देखिन्छ । धारचुला–लिपुलेक सडक उद्घाटन पश्चात् भने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अतिक्रमित नेपाली भु–भाग लिम्पियाधुरा, लिपुलेक तथा कालापानी सहितको क्षेत्र नेपालको नक्सामा समेटेको थियो । नक्सामा समेटिएपनि उक्त क्षेत्रमा भारतीय सुरक्षा फौज तैनाथ छ ।
ब्याँस क्षेत्रमा तत्कालिन सरकारले सशस्त्रको उपस्थिति गराई कालापानी नजिक क्षेत्रमा समेत नेपाली सुुरक्षा फौज बसाल्ने तयारी गरिरहेको छ । दिनदहाडै भारतले नेपाली भूमिमागिको अतिक्रमण बढाउदै लगेपछि ब्याँस क्षेत्रमा सशस्त्रको उपस्थिति बढाइएको हो।


