दार्चुला। पश्चिमी त्रिदेशीय सीमा जोड्ने दार्चुला व्यास गाउँपालिकाको तिंकर भञ्जांग जोड्ने गरी निर्माण सुरु भएको सडक १३ वर्षमा ४३ किलोमिटर मात्रै ट्रयाक खुलेको छ। दार्चुला सदरमुकाम खलंगादेखि व्यासको तिंकर भञ्जांग जोड्ने गरी निर्माण सुरु भएको सो सडक १३ बर्षमा जम्मा ४३ किलोमिटर मात्रै ट्रयाक खुलेको हो। आर्थिक वर्ष ०६५/०६६ बाट निर्माण भएको यो सडक अहिले व्यास ३ को तुसरपानीसम्म ट्रयाक खुलाएको छ। सडकको ट्रयाक खुलाए पनि यातायात भने हिउँदयाममा ४० किलोमिटर पर्ने सुनसेरासम्म मात्रै चलेको थियो। अहिले बर्खाको समय यो सडक हिकिलासम्म मुस्किलले गाडी चल्ने गरेको स्थानीय बताउँछन् । महाकाली लोकमार्ग अन्तर्गत रहेको दार्चुला तिंकर सडकको जिम्मा अहिले ४७ किलोमिटर पर्दछ । सुनसेरा देखि मालको कोठेधारसम्मको ७ किलोमिटर सडक खण्ड मध्ये हालसम्म साढे तीन किलोमिटर मात्रै ट्रयाक खुलेको छ ।
अहिले यो क्षेत्रमा पहिरो गएर पूरै अवरुद्ध भएको छ । यो क्षेत्रमा सडकको ट्रयाक खुलाउन ०६९/०७० मा अमर सूर्य जेभीले जिम्मेवारी पाएको थियो । तर चालू आर्थिक वर्षमा अमर सूर्यले ६०० मिटर मात्रै सडकको ट्रयाक खुलाएको दार्चुला तिंकर सडक योजना प्रमुख अच्यूत पन्तले जानकारी दिए। ६ पटक म्याद थप गरेर पनि सडकको ट्रयाक खुलाउन नसकेपछि अहिले म्याद थप गर्ने कि नयाँ ठेक्का व्यवस्थापन गर्ने भन्नेबारे निक्र्यौल भएको छैन् । तिंकर सडकले गाउँपालिकासम्म सडक सुधार गर्न गत वर्ष चार वटा ठेक्का लगाएको छ । भने कालोपत्रेको काम अघि बढाउन लागेको छ । तर अझै यो सडक नियमित चल्ने कहिले हो भन्नेमा स्थानीय आंशका गर्छन् । २०७७ वैशाख २४ गतेको मन्त्रिपरिषद् बैठकले दार्चुला–टिंकर १ सय ४० किलोमिटरमध्ये व्यास–२ मालको कोठेधारदेखि टिंकर नाकासम्म ८७ किलोमिटर सडक निर्माणको जिम्मा सेनालाई दिने निर्णय गरेको थियो । अतिक्रमित नेपाली भूमि व्यासको लिपुलेक क्षेत्रमा भारतले एकतर्फी रूपमा गत वैशाखमा चिनियाँ नाका लिपुपास जोड्न तावाघाट–लिपुलेक सडक बनाएको थियो ।
भारतले २२ किलोमिटर सडक नेपाली भूमिमा बनाएको छ । यसपछि सरकारले सुस्त गतिमा रहेको दार्चुला–टिंकर सडकको माथिल्लो भाग बनाउने जिम्मा सेनालाई दिने निर्णय गरेको हो । भारतले लिपुलेकमा सडक निर्माण गरेपछि सरकारले व्यासको छाङरुमा सशस्त्र प्रहरीको गुल्म पनि स्थापना गरेको थियो । त्यसयता यो क्षेत्रमा १२ महिनै सुरक्षाकर्मी बसिरहेका छन् । यसअघि प्रहरी चौकीहरू हिउँदमा बेंसी झर्ने गर्थे । गाउँपालिका प्रवक्ता एवं वडा नम्बर २ का वडाअध्यक्ष धिरनसिह बुढाथोकी अहिले व्यासीहरुलाई अप्ठ्यारो परेको छ । सदरमुकाम आउजाउ गर्न र गाउँ फर्किन स्थानीय डराएका छन् । हाम्रो तिरको सडक र बाटो तत्काल बनाइनुपर्छ उहाँले भन्नुभयोे । अहिलेको अवस्थामा सरकारले सडक र घोरेटो बाटो सुधारको लागि प्राथमिकता दिनुपर्छ । झोलुंगे पूल समयमै बनेको भए अहिलेको अवस्था सिर्जना नहुने उहाँको भनाई छ ।